येशू रोमी बडा-हाकिमको अघि उभिनुभएपछि हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” मुख्य पूजाहारी र अरू अगुवाहरूले येशूलाई धेरै दोष लगाउन थाले। तर जतिसुकै दोष लगाए तापनि उहाँले केही पनि भन्नुभएन। यसकारण पिलातसले उहाँलाई भने, “तिनीहरूले यतिका दोषहरू लगाएको तिमी सुन्दैनौ?” तर येशूले एउटै कुराको पनि जवाफ दिनुभएन। यो देखेर बडा-हाकिमलाई साह्रै अचम्म लाग्यो। निस्तार चाडको बेलामा बडा-हाकिमले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्ने गरेका थिए। त्यस बेला बारब्बा नाउँ गरेको एक जना डरलाग्दो मानिस झ्यालखानमा थियो। अनि पिलातसले जम्मा भएका मानिसहरूलाई सोधे, “लौ भन, म कसलाई छोडिदिऊँ? बारब्बालाई कि ख्रीष्ट भन्ने येशूलाई?” किनभने तिनीहरूले येशूलाई डाह गरेर सुम्पन ल्याएका हुन् भन्ने कुरा बडा-हाकिमलाई थाहा थियो। पिलातस न्याय आसनमा बसेका थिए। त्यसै बेला उनकी स्वास्नीले उनलाई यसो भनेर खबर पठाइन्, “ती धर्मात्मा मानिसलाई केही पनि नगर्नुहोला किनभने आज राती मैले उनको बारेमा सपना देखेर धेरै दु:ख पाएकी छु।” तर मुख्य पूजाहारी र अरू अगुवाहरूले चाहिँ मानिसहरूको धुइरोलाई सुर्याएर यसो भन्न लगाए, “येशूलाई मार्नुहोस्, बारब्बालाई चाहिँ छोडिदिनुहोस्।” बडा-हाकिमले फेरि सोधे, “साँच्चै भन, कसलाई छोडिदिऊँ?” तिनीहरूले “बारब्बालाई नै छोडिदिनुहोस्,” भनेर कराए। अनि पिलातसले तिनीहरूलाई फेरि सोधे, “त्यसो भए ख्रीष्ट भन्ने येशूलाई चाहिँ म के गरूँ त?” “त्यसलाई क्रूसमा झुण्ड्याइयोस्!” तिनीहरू सबैले कराएर भने। पिलातसले सोधे, “यिनले के अपराध गरेका छन् र?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमै झुण्ड्याइयोस्!” पिलातसलाई अब केही सीप नलाग्लाजस्तो भयो। अब त गोल-माल मच्चिएला भन्ने ठानेर उनले सबैको अगाडि हात धुँदै भने, “हेर, यी मानिसलाई मारेको दोष मलाई होइन, तर तिमीहरूलाई नै लागोस्।” “हुन्छ-हुन्छ, यसलाई मारेको दोष हामी र हाम्रै छोरा-छोरीमाथि नै परोस्!” तिनीहरूले कराउँदै भने। तब पिलातसले बारब्बालाई छोडिदिए। येशूलाईचाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्ड्याउन सिपाहीहरूलाई जिम्मा लगाए। त्यसपछि पिलातसका सिपाहीहरूले येशूलाई दरबारभित्र लगे अनि अरू सबै सिपाहीहरूलाई बोलाएर ल्याए। तिनीहरूले येशूको लुगा फुकालेर उहाँलाई राजाको जस्तै रातो पोशाक पहिराइदिए। काँडाको मुकुट बनाएर उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातले निगालो लिन लगाएर उहाँको अगाडि झुकेर गिल्ला गर्दै भने, “यहूदीहरूका राजाको जय होस्!” त्यसपछि सिपाहीहरूले उहाँलाई थुके अनि निगालो खोसेर उहाँकै टाउकोमा हिर्काए। तिनीहरूले उहाँलाई यसरी गिल्ला गरिसकेपछि रातो पोशाक फुकालेर उहाँको आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्ड्याउन लगे। बाटोमा जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ गरेका एक जना कुरेनी देशको मानिसलाई भेटे। तिनीहरूले तिनलाई जबरजस्ती येशूको क्रूस बोक्न लगाए अनि तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। गलगथा भनेको चाहिँ ‘खप्परे ठाउँ’ हो। त्यहाँ पुगेर तिनीहरूले येशूलाई तीतो औषधी हालेको सिर्का खान दिए। चाखेपछि उहाँले पिउन मान्नुभएन। त्यसपछि तिनीहरूले येशूलाई क्रूसमा किला ठोकेर झुण्ड्याए। उहाँको लुगाचाहिँ तिनीहरूले आपसमा चिट्ठा हालेर बाँडे। तिनीहरू उहाँलाई कुरेर बसे। उहाँको शिरमाथि तिनीहरूले “यो येशू यहूदीहरूको राजा हो,” भनी दोष पत्र लेखेको टाँगिदिए।
मत्ती 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:11-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू