YouVersion लोगो
खोज आइकन

मत्ती 27:11-26

मत्ती 27:11-26 NCV

अनि येशू राज्यपालको अघि उभिनुभयो, अनि राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भन्‍नुभएझैं।” जब उहाँलाई मुख्य पूजाहारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?” तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्‍क परे। अब चाडको समयमा भीडले चाहेबमोजिम एकजना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो। त्यस बेला तिनीहरूसित बारब्बा नाउँ भएको एकजना कुख्यात कैदी थियो। अनि जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूको लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?” किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो। पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राती मैले सपनामा तिनको कारण धेरै कष्‍ट भोगेकी छु।” तर मुख्य पूजाहारीहरूले अनि प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिने माग गर्न भीडलाई उक्साए। राज्यपालले सोधे, “दुईजनामा म तिमीहरूको निम्ति कसलाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “बारब्बालाई।” पिलातसले सोधे, “त्यसो भए ख्रीष्‍ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” जब पिलातसले आफ्नो केही सीप नलाग्ने, बरु अझ खैलाबैला मच्‍चिने देखे, तिनले पानी लिएर भीडको सामुन्‍ने आफ्ना हात धोए। तिनले भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।” सबैजनाले जवाफ दिए, “यिनको रगत हामीहरू र हाम्रा सन्तानमाथि परोस्।” तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लाउन लगाए, अनि उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।

मत्ती 27 पढ्नुहोस्