YouVersion लोगो
खोज आइकन

मत्ती 27:11-26

मत्ती 27:11-26 NNRV

येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।” अनि मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्‍दैनौ?” तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्‍क परे। निस्‍तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो। त्‍यस बेला बारब्‍बा नाउँ भएको एक जना कुख्‍यात कैदी थियो। जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति कसलाई छोडिदिऊँ? बारब्‍बा कि ख्रीष्‍ट भनिने येशूलाई?” किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्‍पिदिएका हुन्‌ भनी तिनलाई थाहा थियो। तब न्‍याय-आसनमा बसिरहेको बेला तिनकी पत्‍नीले यसो भनी खबर पठाइन्, “त्‍यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।” तर मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्‍बालाई छोडिदिने र येशूलाई मृत्‍युदण्‍ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्‍याए। हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्‍ति मुक्त गरिदिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ?” तिनीहरूले भने, “बारब्‍बालाई।” पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्‍यो क्रूसमा टाँगिओस्‌।” तिनले भने, “किन? तिनले के अपराध गरेका छन्‌ र?” तर तिनीहरू अझ बढ़ी यसो भन्‍दै चिच्‍च्‍याए, “त्‍यो क्रूसमा टाँगिओस।” तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्‍चिन्‍छ भन्‍ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्‍ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।” सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्‍तानमाथि परोस्‌।” तब तिनले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्‍पिदिए।