YouVersion लोगो
खोज आइकन

मत्ती 27:1-14

मत्ती 27:1-14 NCV

एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे। तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए। जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्‍काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो, अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।” यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्‍यो। मुख्य पुजारीहरूले ती सिक्‍काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।” तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्‍ने निर्णय गरे। यसैकारण आजको दिनसम्म नै यसलाई रगतको जमिन भनिन्छ। तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्‍काहरू लिए, अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्‍न प्रयोग गरे।” येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैँले भन्‍नुभयो।” जब उहाँलाई मुख्य पुजारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?” तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्‍क परे।

मत्ती 27 पढ्नुहोस्