YouVersion लोगो
खोज आइकन

मत्ती 23:1-22

मत्ती 23:1-22 NCV

अनि येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्। यसकारण तिमीहरूले तिनीहरूले भनेका हरेक कुरा मान र गर, तर तिनीहरूले जे गर्छन् ती नगर, किनकि तिनीहरूले जे प्रचार गर्छन् त्यो अभ्यास गर्दैनन्। तिनीहरूले बोक्नै नसक्ने गह्रौं भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफै ती उचाल्नलाई आफ्ना एक औंला पनि चलाउँदैनन्। “तिनीहरूले प्रत्येक कुरा मानिसहरूले देखून् भनेर गर्छन्। तिनीहरूले आफ्ना धर्मशास्त्रका पदहरू लेखेको पत्रलाई चौडा बनाउँछन्, अनि आफ्ना वस्त्रका झुम्का लामा बनाउँछन्। तिनीहरू भोजमा आदरको स्थान मन पराउँछन्, अनि सभाघरहरूमा सबैभन्दा प्रमुख आसनहरू लिन मन पराउँछन्। तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन मन पराउँछन् अनि मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्। “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइ हौ। अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ। न ता तिमीहरूलाई ‘प्रशिक्षक’ भनियोस्, किनकि तिमीहरूका एउटै प्रशिक्षक हुनुहुन्छ, अर्थात् ख्रीष्‍ट। तिमीहरूमध्ये जो सबैभन्दा ठूलो छ, ऊ तिमीहरूको सेवक हुनेछ। किनकि जसले आफूलाई उच्‍च पार्छ ऊ नम्र बनाइनेछ, र जसले आफूलाई नम्र बनाउँछ ऊ उच्‍च पारिनेछ।” “धिक्‍कार तिमी, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू मानिसको सामुन्‍ने स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न ता प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ। धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू हो, तिमी कपटीहरू! तिमीहरू विधवाहरूका घर निलिहाल्दछौ र देखाउनको लागि लामा-लामा प्रार्थना गर्दछौ। यसैले अरूले भन्दा तिमीहरूले धेरै दण्ड पाउनेछौ। “धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू एकजनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चहार्छौ, अनि ऊ तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुई गुणा नरकको छोरो बनाउँछौ। “धिक्‍कार तिमीहरूलाई दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू यसो भन्दछौ, ‘यदि कसैले मन्दिरको शपथ खायो भने यसको कुनै अर्थ हुँदैन; तर यदि कसैले मन्दिरको सुनको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’ तिमी दृष्‍टिविहीन मूर्खहरू! कुन महत्त्वपूर्ण हो: सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने, यसको अर्थ हुँदैन; तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने, त्यो त्यस शपथले बाँधिनेछ।’ तिमी दृष्‍टिविहीन मानिसहरू! कुन महत्त्वपूर्ण हो: भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? यसकारण जसले वेदीको शपथ खान्छ, त्यसले वेदीको अनि त्यसमाथि राखिएको प्रत्येक कुरोकै शपथ खान्छ। अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिरको अनि मन्दिरभित्र बास गर्नुहुनेको शपथ खान्छ। अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासनको अनि त्यसमाथि बस्‍नुहुनेको शपथ खान्छ।

मत्ती 23 पढ्नुहोस्