YouVersion लोगो
खोज आइकन

मत्ती 21:33-46

मत्ती 21:33-46 NCV

“अर्को दृष्‍टान्त सुन: एकजना जमिनको मालिक थिए, जसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर पर्खाल बनाएर दाख पेल्ने एउटा कोल खने, अनि एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्‍कामा दिएर यात्रामा गए। जब कटनीको समय आयो, तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए। “तब ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे अनि तेस्रोलाई ढुङ्गाले हाने। अनि तिनले अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे। अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए। तिनले भने, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्।’ “तर ती मोहीहरूले जब छोरालाई आउँदै गरेको देखे, तिनीहरूले आपसमा भने, ‘यो ता उत्तराधिकारी हो; आओ, यसलाई मारौं अनि उसको उत्तराधिकार हात पारौं।’ यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब तिनले ती मोहीहरूलाई के गर्लान्?” तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्‍टहरूलाई दूर्दशापूर्वक अन्त्य गरिदिनेछन्, अनि त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनलाई तिनको भागको अन्‍न दिनेछन्।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द तुल्याए त्यही कुनाको मुख्य ढुङ्गो बन्यो; प्रभुले नै यो गर्नुभएको हो, अनि यो हाम्रा दृष्‍टिमा अचम्मको छ’? “यसकारण म तिमीहरूलाई भन्दछु, कि परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ अनि यस्तो जातिलाई दिइनेछ, जसले यसबाट फल फलाउनेछ। जो यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि यो खस्छ, त्यो धूलोपीठो हुनेछ।” जब मुख्य पूजाहारीहरू र फरिसीहरूले येशूको यो दृष्‍टान्त सुने, तिनीहरूले उहाँले त तिनीहरूकै विषयमा भन्दैहुनुहुन्छ भनी जाने। तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले, तर तिनीहरू भीडसित डराउँथे; किनकि तिनीहरूले उहाँलाई अगमवक्‍ता भनी मान्थे।

मत्ती 21 पढ्नुहोस्