जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, उहाँले साथमा बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेमतर्फ जाँदैछौं, अनि मानिसका पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछन्। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्, अनि उनलाई गैरयहूदीहरूको हातमा गिल्ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ!”
तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, अनि घुँडा टेकेर उहाँसँग एउटा विन्ती गरिन्।
उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?”
उनले भनिन्, “मेरा यी छोराहरूमध्ये एकजना तपाईंको राज्यमा तपाईंको दाहिनेतिर अनि अर्कोचाहिँ देब्रेतिर बस्न पाउने मञ्जुरी दिनुहोस्।”
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्टको कचौरा तिमीहरू पिउन सक्छौ?”
तिनीहरूले जवाफ दिए, “हामी सक्छौं।”
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले अवश्य मेरो कचौरादेखि पिउनेछौ, तर तिमीहरू मेरा दाहिने र देब्रेपट्टि बस्न पाउने कुराचाहिँ म मञ्जूर गर्न सक्दिनँ। यी ठाउँहरू त मेरा पिताले तयार गर्नुभएकाहरूका लागि हुन्।”
जब ती दशजनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए। येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, अनि तिनीहरूका उच्च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ। तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ, अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ। यसरी नै मानिसका पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न, अनि धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आएका हुन्।”
येशू र उहाँका चेलाहरूले जब यरिहो छोड्दैहुनुहुन्थ्यो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। दुईजना दृष्टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए, अनि जब तिनीहरूले येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्ने सुने, तिनीहरू यसो भनी कराए, “हे प्रभु, दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
भीडले तिनीहरूलाई चूप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूको निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?”
तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्टि पाऔं।”
येशू तिनीहरूप्रति दयाले भरिनुभयो अनि तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्टि पाए, अनि उहाँलाई पछ्याए।