YouVersion लोगो
खोज आइकन

मत्ती 19:1-15

मत्ती 19:1-15 NCV

येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालील प्रदेश छोडेर यर्दनको अर्कोतिर भएको यहूदिया प्रदेशका इलाकाहरूमा जानुभयो। ठूला भीडहरू उहाँको पछि लागे। अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो। केही फरिसीहरू उहाँलाई जाँच गर्न भनी उहाँकहाँ आए। तिनीहरूले सोधे, “जुनसुकै कारण भए तापनि के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?” उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्‍टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’ अनि भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’? यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।” तिनीहरूले सोधे, “त्यसो भए किन मोशाले त्यस मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्‍ने आज्ञा दिए त?” येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई तिमीहरूको हृदयको कठोरताको कारण, तिमीहरूका पत्नीहरूलाई त्याग्ने अनुमति दिए। तर सुरुदेखि नै त यस्तो थिएन। म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह सम्बन्ध-विच्छेद गर्दछ, र अर्की स्त्रीलाई विवाह गर्दछ, उसले पनि व्यभिचार गर्दछ।” चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने त विवाह नगर्नु नै असल रहेछ।” येशूले उत्तर दिनुभयो, “यो कुरा हरेकले ग्रहण गर्न सक्दैन। तर जसलाई यो दिइएको छ, उसले मात्र ग्रहण गर्न सक्छ। किनकि कोही त जन्मदेखि नै नपुंसक हुन्छन्: अरूलाईचाहिँ मानिसहरूले त्यस्ता बनाए। अनि अरूचाहिँ स्वर्गको राज्यको लागि नपुंसक नै भएर रहन चाहन्छन्। जसले यो स्वीकार गर्न सक्छ, त्यसले गरोस्।” तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदेऊन्, र तिनीहरूका निम्ति प्रार्थना गरिदेऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए। येशूले भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।” येशूले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, त्यसपछि उहाँ त्यहाँबाट जानुभयो।

मत्ती 19 पढ्नुहोस्