त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने। तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्तिस्मा दिने यूहन्ना हुन्; जो मरेकाबाट जीवित भएका छन्। त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।” हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए। किनकि यूहन्नाले तिनलाई यसो भनेका थिए: “तपाईंले तिनलाई राख्नु उचित छैन।” हेरोदले यूहन्नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे। किनकि तिनीहरूले यूहन्नालाई एक अगमवक्ता भनी मान्दथे। हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई धेरै खुशी पारी। त्यसले जे मागे पनि दिनेछु भनी शपथ खाएर त्यसलाई वचन दिए। आमाले सिकाएअनुसार त्यसले भनी, “यहाँ मलाई एउटा थालमा बप्तिस्मा दिने यूहन्नाको शिर दिनुहोस्।” यो सुनेर राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस बिन्तीलाई पूरा गरिदिने आज्ञा दिए। झ्यालखानामा यूहन्नाको शिर काट्न लगाए। तिनको शिर एउटा थालमा ल्याएर त्यस केटीलाई दिइयो; अनि त्यसले त्यो आफ्नी आमाकहाँ लगी। यूहन्नाका चेलाहरू आएर तिनको मृत शरीर लगे, र गाडिदिए अनि गएर तिनीहरूले येशूलाई भनिदिए। जब येशूले यो घटना सुन्नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे। जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र तिनीहरूका रोगहरूलाई निको पार्नुभयो। साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुरा किनून्।” येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” उहाँले भन्नुभयो, “ती मकहाँ ल्याओ।” अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए।
मत्ती 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 14:1-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू