YouVersion लोगो
खोज आइकन

मत्ती 13:36-58

मत्ती 13:36-58 NCV

तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।” उहाँले जवाफ दिनुभयो, “जसले असल बिउ छर्‍यो, त्योचाहिँ मानिसको पुत्र हो। खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्; अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्। “सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्‍ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्। अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्। “स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो। “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एक जना व्यापारीजस्तो हो, जसले एउटा बहुमूल्य मोती भेट्टायो, र त्यो गइहाल्यो; अनि आफूसित भएका सबै थोक बेचेर त्यो मोती किन्यो। “फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। जब जाल भरियो, तब मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबजतिलाई बाहिर फ्याँकिदिए। युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।” येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौँ।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एक जना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।” जब येशूले यी दृष्‍टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अगि बढ्नुभयो। आफ्नो घर भएको सहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो; अनि तिनीहरूले छक्‍क परेर सोधे, “यी मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट प्राप्‍त गरे? के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाम मरियम होइन? अनि यिनका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र? त्यसो भए यिनलाई यी सबै कुराहरू कहाँबाट प्राप्‍त भयो?” अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।” उहाँले तिनीहरूका विश्‍वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन।

मत्ती 13 पढ्नुहोस्