तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो। ती सबै मानिसहरू छक्क पर्दै भने, “के यिनी नै दावीदका पुत्र होइनन् र?”
तर जब फरिसीहरूले यो सुने, तब तिनीहरूले भने, “यसले त केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।”
येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्ट भएर जान्छ, र प्रत्येक सहर र परिवार आपसमा विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन। यदि शैतानले शैतानलाई धपाउँछ भने त्यो आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ; तब त्यसको राज्य कसरी टिक्न सक्छ? यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका मानिसहरूले चाहिँ कसको शक्तिद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। तर यदि म परमेश्वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।
“अथवा फेरि, कसैले घरको बलियो मानिसलाई पहिला नबाँधि कसरी उसको घरमा पसेर उसका सबै थोकहरू लैजान सक्ला र? तर उसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
“जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ।
“रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, र त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ। हे सर्पका सन्तान हो, तिमीहरू दुष्ट भईकन कसरी केही कुरालाई असल भन्न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्ट मानिसले आफ्नो दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ। किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।”
एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।”
उहाँले जवाफ दिनुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन। किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछ। न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्। न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्नलाई पृथ्वीको पल्लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
“जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ; र त्यसले भेट्टाउँदैन। तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घर खाली, सफा गरिएको र सुव्यवस्थित पाउँछ। त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्ट अरू सात आत्माहरूलाई आफूसित लिएर आउँछ, र ती सबै भित्र गएर त्यहीँ बस्छन्। अनि त्यो मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ। यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।”
येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए। कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू तपाईंसँग कुरा गर्नका लागि बाहिर उभिरहेका छन्।”
उहाँले तिनलाई जवाफ दिनुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” तब चेलाहरूतिर देखाएर उहाँले भन्नुभयो, “मेरा आमा र भाइहरू यिनीहरू नै हुन्। किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ, उही नै मेरो भाइ, बहिनी र आमा हुन्।”