त्यस बेला येशू विश्रामदिनमा अन्नका खेतबारीहरूबाट भएर जानुभयो। उहाँका चेलाहरू भोकाएका थिए, अनि तिनीहरूले अन्नका केही बालाहरू टिपेर खान थाले। यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले विश्रामदिनमा उचित नहुने काम गरिरहेका छन्।” उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले पढेका छैनौ, दाविदले आफू र आफ्ना साथीहरू भोकाएको बेला के गरेका थिए? तिनी परमेश्वरको भवनभित्र पसे, र तिनी र तिनका साथीहरूले परमेश्वरलाई अर्पण गरिएको रोटी खाए, जो केवल पूजाहारीहरूले मात्र खान उचित थियो, तर अरूको लागि उचित थिएन। अथवा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ कि, विश्रामदिनमा मन्दिरभित्र भएका पूजाहारीहरूले त्यस दिनलाई अपवित्र तुल्याउँछन् र पनि निर्दोष नै रहन्छन्? म तिमीहरूलाई भन्दछु, कि मन्दिरभन्दा महान् यहाँ एकजना हुनुहुन्छ। यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइनँ, तर दया चाहन्छु’ भन्ने बुझेका भए तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ। किनकि मानिसका पुत्र विश्रामदिनको पनि प्रभु हुन्।” त्यस ठाउँदेखि अघि बढ्दै, उहाँ तिनीहरूका सभाघरमा जानुभयो। अनि त्यहाँ हात सुकेर नचल्ने भएको एकजना मानिस थियो। येशूलाई दोष लाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के विश्रामदिनमा निको पार्नु उचित छ?” उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ, अनि त्यो विश्रामदिनमा खाडलमा खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ? मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण विश्रामदिनमा असल गर्नु उचित हुन्छ।” तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्यो, अनि त्यसको हात अर्को हातजस्तै निको भयो। तर फरिसीहरू बाहिर गइहाले, अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले। त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्यो, अनि उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो। अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो। यो यशैयाबाट भनिएको कुरा पूरा हुनालाई थियो: “यिनी मेरा सेवक हुन् जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु, जसमाथि म प्रसन्न छु; म मेरो आत्मा तिनीमाथि राख्नेछु, अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्। तिनले झगडा गर्नेछैनन्, न ता चिच्याउने छन्; तिनको आवाज सडकतिर कसैले पनि सुन्नेछैन। चोट परेको निगालोलाई तिनले भाँच्ने छैनन्, अनि धूवाँ आउँदै गरेको सलेदोलाई तिनले निभाउनेछैनन्, जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्याउनेछैनन्। तिनकै नाउँमा राष्ट्रहरूले आफ्ना आशा राख्नेछन्।”
मत्ती 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 12:1-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू