तब शैतान बाह्र जनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो। अनि त्यो मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो। त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्यो। यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए। त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो। येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।”
तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ तयार गरौँ भनी तपाईं चाहनुहुन्छ?”
उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम सहरमा पस्नेबित्तिकै गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु?’ तिनले तिमीहरूलाई माथिल्लो तलामा सजाएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीँ तयार गर।”
तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्नुभएझैँ भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे।
जब सही समय भयो, येशू र उहाँका चेलाहरू टेबुलमा खान बस्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।”
कचौरा लिनुभएपछि उहाँले परमेश्वरलाई धन्यवाद दिनुभयो र भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।”
त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”
त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ। तर मलाई पक्राइदिनेको हात मसँगै टेबुलमा छ। मानिसको पुत्र त ठहराइएअनुसार जान्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।” तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधासोध गर्न थाले।
तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद हुन थाल्यो। येशूले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैँलाई ‘उपकारी’ भन्छन्। तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैँ बनोस्; र शासकचाहिँ सेवा गर्नेजस्तै बनोस्। किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु। मेरो परीक्षामा मसँग खडा रहनेहरू तिमीहरू नै हौ। अनि म तिमीहरूलाई एउटा राज्य नियुक्त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्त गर्नुभएको छ; ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ। अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्नेछौ।
“सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ। तर सिमोन तिम्रो विश्वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”
तर तिनले भने, “हे प्रभु, म त तपाईंसँगै झ्यालखानामा र मृत्युसम्म पनि जान तयार छु।”
येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, आज भाले बास्नुभन्दा अगि तिमीले मलाई चिनेको कुरा तीन पल्ट अस्वीकार गर्नेछौ।”
त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?”
तिनीहरूले जवाफ दिए, “भएन।”
उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अब भने तिमीहरूसित थैली छ भने त्यो लेओ, र झोला पनि बोक। अनि तिमीहरूसित तरवार छैन भने आफ्नो लुगा बेचेर एउटा किन। यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’ अनि म तिमीहरूलाई भन्दछु, यो लेखिएको कुरा मेरो जीवनमा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।”