YouVersion लोगो
खोज आइकन

लूका 2:5-20

लूका 2:5-20 NCV

उनी आफ्नो नाउँ दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। तिनीहरू त्यहाँ रहेकै बेला, बालक जन्मने बेला भयो, र तिनले आफ्नो जेठो छोरो जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति त्यहाँ पौवामा ठाउँ थिएन। अनि त्यहाँ नजिकैको चउरमा राती आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ देखा परे, अनि प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाविदको शहर बेथलेहेममा तिमीहरूका निम्ति एकजना मुक्‍तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो, “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँको प्रसन्‍नता पाएका मानिसहरूलाई शान्ति।” अनि स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गइसकेपछि ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔं, र घटेको यो घटना हेरौं, जसको विषयमा प्रभुले हामीलाई भन्‍नुभएको छ।” त्यसकारण तिनीहरू हतार-हतार गए, अनि मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैल्याए, अनि जतिजनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबैजना आश्‍चर्य चकित भए। तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा गुन्दै बसिन्। सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।

लूका 2 पढ्नुहोस्