YouVersion लोगो
खोज आइकन

लूका 16:1-18

लूका 16:1-18 NCV

येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “कुनै धनी मानिसको एकजना प्रबन्धक थियो र उसलाई आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्‍ने दोष लागेको थियो। त्यसकारण मालिकले त्यसलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा जे सुन्दैछु, त्यो के हो? तिम्रो कामको हिसाब देऊ; किनकि अब उप्रान्त तिमी प्रबन्धक रहिरहन सक्दैनौ।’ “त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्‍न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ, अनि भीख माग्न मलाई लाज लाग्छ। मैले के गर्नेछु, त्यो मलाई थाहा छ, त्यसो गर्दा म यहाँको कामबाट हटाइए पनि मानिसहरूले मलाई तिनीहरूका घरमा स्वागत गरून्।’ “तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीलाई मेरा मालिकको कति ऋण छ?’ “उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’ “प्रबन्धकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ र चाँडो बसेर पन्ध्र सय लिटर लेख।’ “त्यसपछि त्यसले दोस्रोलाई सोध्यो, ‘तिमीलाई कति ऋण छ?’ “उसले भन्यो, ‘तीस टन गहुँ।’ “त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ र चौबीस टन लेख।’ “त्यसले चतुर्‍याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे, किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा अझ बढी चतुर हुन्छन्। म तिमीहरूलाई भन्दछु, संसारको धन प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धन सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ। “जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ, अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ। त्यसैले यदि तिमीहरू सांसारिक धन चलाउने काममा इमानदार भएनौ भने तिमीहरूलाई साँचो धनको निम्ति कसले भरोसा गर्ला? अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धन कसले देला र? “कुनै पनि सेवकले दुई मालिकको सेवा गर्न सक्दैन। कि ता त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि ता त्यो एउटाप्रति भक्‍त बनेर अर्कालाई तुच्छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ।” फरिसीहरू, जसले धनको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामुन्‍ने आफैलाई धर्मी ठहराउने मानिसहरू तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्‍वरले जान्‍नुहुन्छ। मानिसहरूका बीचमा जे उच्‍च ठानिएको हुन्छ, त्यो परमेश्‍वरको दृष्‍टिमा घृणित हुन्छ। “व्यवस्था र अगमवक्‍ताका वचन यूहन्‍नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्‍वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ, अनि हरेक व्यक्‍तिले आफू त्यसभित्र पस्‍न जबरजस्ती गर्दैछ। तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलिजान सजिलो छ। “जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, अनि त्यो मानिस जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ।

लूका 16 पढ्नुहोस्