YouVersion लोगो
खोज आइकन

लूका 1:8-25

लूका 1:8-25 NCV

एक पल्ट जब जकरिया परमेश्‍वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए, तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्‍यो। अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए। त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। दूतलाई देखेर जकरिया आत्तिए र डराए। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रा निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाम यूहन्‍ना राख्नू। तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्। किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्। तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्। बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।” जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्‍का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्‍वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ। अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्‍वास गरेनौ।” यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्‍क पर्दैथिए। जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्। अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्‍तमा बसिन्। तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”

लूका 1 पढ्नुहोस्