“ ‘दोषबलिका नियमहरू यिनै हुन्, जो अति पवित्र छ: दोषबलिलाई होमबलि मारिएको ठाउँमा मारियोस्। अनि त्यसको रगत वेदीको चारैतिर छर्कियोस्। त्यसका सबै बोसो चढाइनुपर्छ। बोसे पुच्छर र भित्री भागलाई छोप्ने बोसो, कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नुपर्छ। पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो। पुजारीको परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर त्यसलाई पवित्रस्थानमा खाइयोस्; यो अति पवित्र छ। “ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्चित गर्छ, त्यो त्यसैको हो। कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ। चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्नबलि त्यसलाई चढाउने पुजारीको हो। जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो। “ ‘याहवेहका निम्ति चढाइने मेलबलिका नियमहरू यिनै हुन्: “ ‘यदि यसलाई धन्यवाद दिनलाई चढाएको हो भने त्यसले आफ्नो धन्यवाद बलिको साथमा अखमिरी, जैतुन तेल मिसाएर पकाइएको बाक्लो रोटी, अखमिरी, तेल दलेर बनाइएको पातलो रोटी र मसिनो पिठो राम्रो गरी मुछेर तेल मिसाएको फुरौला चढाओस्। त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर मिसाएको बाबरको रोटी भेटी चढाओस्। त्यसले हरेक किसिमका रोटी एक-एक गरी भेटीको रूपमा याहवेहका निम्ति स्वेच्छा भेटीस्वरूप ल्याओस्। यो मेलबलिको रगत छर्कने पुजारीको हो। धन्यवादको मेलबलिको मासु त्यसलाई चढाइएको दिनमै खाइयोस्। त्यसले यसको केही भाग पनि बिहानसम्म नराखोस्। “ ‘तर यदि त्यसको भेटी भाकलको अथवा स्वेच्छा-भेटी हो भने त्यो बलिदान यसलाई चढाइएकै दिन खाइयोस्। तर केही उब्रियो भने भोलिपल्ट खान सकिन्छ। तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्। यदि कसैले मेलबलिको मासु उब्रेको तेस्रो दिनमा खायो भने त्यो ग्रहणयोग्य हुनेछैन। त्यो अशुद्ध भएकोले त्यसलाई चढाउनेले त्यो चढाएको मान्यता पाउनेछैन। यसलाई खाने व्यक्ति दोषी ठहरिनेछ। “ ‘विधिपूर्वक अशुद्ध कुरालाई छोएको मासु खान हुँदैन, त्यो जलाइयोस्। अरू मासुचाहिँ विधिपूर्वक शुद्ध भएकाहरूले खान सक्छन्। तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्। यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ” याहवेहले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘कुनै गाईबस्तु, भेडा अथवा बोकाको बोसो नखानू। प्राकृतिक रूपमा मरेको अथवा वन पशुहरूद्वारा मारिएको पशु भेट्टाइयो भने त्यसको बोसोलाई अरू काममा लगाउन सकिन्छ। तर तिमीहरूले चाहिँ त्यो खाँदै नखानू। जुन पशुबाट याहवेहका निम्ति अग्निबलि चढाइएको छ, त्यसको बोसो खाने व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। तिमीहरू जहाँ बसे तापनि चराचुरुङ्गी अथवा पशुको रगत नखानू। जुन व्यक्तिले रगत खान्छ, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।’ ”
लेवी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 7:1-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू