लेवी 6
6
1याहवेहले मोशालाई भन्नुभयो: 2“यदि कसैले छिमेकीले सुम्पेको केही सामान त्यसलाई अथवा त्यसको जिम्मामा राखेको कुनै सामान चोरी भएको छ भने वा आफ्नो छिमेकीलाई ठगेर पाप गर्छ भने, र याहवेहप्रति विश्वासघाती बन्छ भने, 3अथवा त्यसले कुनै हराएको सम्पत्ति पाएर त्यस विषयमा झूटो बोल्छ, अथवा झूटो शपथ खान्छ भने, अथवा मानिसहरूले गर्नेजस्ता पाप गर्छ भने; 4जब त्यसले यसरी पाप गर्छ, र त्यो दोषी भएको आभास गर्छ; त्यसले चोरेको अथवा लुटेको सामान अथवा त्यसलाई सुम्पेको सामान अथवा हराएको सामान त्यसले भेट्टाएको छ, 5अथवा जुनसुकै कुरा, जसको बारेमा त्यसले झूटो शपथ खाएको छ; त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ भाग थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढाउने दिनमा, त्यो सामान जसको हो, उसैलाई दिनुपर्छ। 6अनि दण्डस्वरूप त्यसले पुजारीकहाँ आफ्नो दोषबलि याहवेहका लागि आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा भेडा ल्याओस्। 7यसरी पुजारीले याहवेहको सामु त्यसका निम्ति प्रायश्चित गर्नेछ। अनि आफूलाई दोषी ठहराउने कामबाट त्यसलाई क्षमा मिल्नेछ।”
होमबलि
8याहवेहले मोशालाई भन्नुभयो: 9“हारून र त्यसका छोराहरूलाई यो आज्ञा दिनू: ‘होमबलिका नियमहरू यिनै हुन्: होमबलि दाउरामाथि रातभरि वेदीको आगो बल्ने स्थानमा बिहानसम्मै रहिरहोस् र वेदीमा आगो बलिरहोस्। 10त्यसपछि पुजारीले आफ्ना सुतीका पोशाकहरू र भित्री सुती पोशाकहरू शरीरमा लगाओस्, र वेदीमा आगोले जलाएको होमबलिको खरानी निकालेर वेदीको छेउमा राखोस्। 11तब त्यसले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाएर छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्यो खरानी बोकेर लैजाओस्। 12वेदीमाथिको आगो जलिरहोस्; र त्यो निभ्न नपाओस्। हरेक बिहान पुजारीले त्यसमा दाउरा थपेर होमबलिलाई आगोमाथि मिलाओस् र त्यसमाथि मेलबलिको बोसो जलाओस्। 13वेदीमाथि आगो निरन्तर जलिरहोस्; त्यो कहिल्यै ननिभोस्।
अन्नबलि
14“ ‘अन्नबलिका नियमहरू यिनै हुन्: हारूनका छोराहरूले त्यसलाई याहवेहको सामु वेदीको अगिल्तिर ल्याओस्। 15पुजारीले एक मुठी मसिनो पिठो र केही जैतुनको तेल, र सबै धूपहरू त्यस अन्नबलिमाथि लिएर सम्झनाको भाग याहवेहलाई मनपर्ने बास्नाको रूपमा वेदीमाथि जलाओस्। 16बाँकी रहेको भाग हारून र त्यसका छोराहरूले खानेछन्। तर त्यो खमिरविना पवित्रस्थानमा समागम पालको आँगनमा खाइनुपर्छ। 17त्यसलाई खमिरसित पकाइनुहुँदैन। त्यो म याहवेहलाई अग्निबलिको रूपमा चढाइएका भेटीहरूबाट तिनीहरूको भागस्वरूप मैले तिनीहरूलाई दिएको छु। पाप शुद्धीकरण बलि र दोषबलिझैँ त्यो अति पवित्र छ। 18हारूनका सन्ततिमध्ये कुनै पनि पुरुषले त्यो खान सक्छ। याहवेहलाई अग्निबलिको रूपमा चढाइएका बलिहरूबाट त्यो तिनीहरूका आउने पुस्ताहरूका निम्ति नियमित भाग हो। जजसले यी बलिहरूलाई छुन्छन्, तिनीहरू पवित्र हुनेछन्।#6:18 अथवा जो कोहीले यी बलिहरूलाई छुन्छन्, ती पवित्र हुनुपर्छ; 27 पदमा पनि।’ ”
19याहवेहले मोशालाई भन्नुभयो, 20“हारून र तिनका छोराहरू अभिषेक भएका दिन तिनीहरूले यी भेटी याहवेहकहाँ ल्याऊन्। मसिनो पिठो एपाको दशौँ भाग#6:20 लगभग 1.6 किलो नियमित अन्नबलिको रूपमा बिहान आधा र बेलुका आधा। 21त्यसलाई तेलसँग ताप्केमा तयार पारेर राम्रो गरी मिसाएर ल्याउनू। त्यो अन्नबलि टुक्रा-टुक्रा गरी भाँचेर याहवेहलाई मनपर्ने बास्नाको रूपमा प्रस्तुत गर्नू। 22जुन छोराले पछि प्रधान पुजारीको रूपमा कार्यभार सम्हाल्नेछ, त्यसैले त्यो तयार गरोस्। त्यो याहवेहको नियमित भाग हो, र त्यसलाई पूरा जलाइओस्। 23पुजारीको हरेक अन्नबलि सबै जलाइओस्, यो खानुहुँदैन।”
पाप शुद्धीकरण बलि
24याहवेहले मोशालाई भन्नुभयो, 25“हारून र त्यसका छोराहरूलाई यसो भन्: ‘पाप शुद्धीकरण बलिका नियमहरू यिनै हुन्: पाप शुद्धीकरण बलिलाई होमबलि मारिएको ठाउँमा याहवेहको सामु मारियोस्, त्यो अति पवित्र हो। 26जुन पुजारीले त्यो चढाउनेछ, त्यसले नै त्यो खानेछ। त्यसलाई पवित्रस्थानमा समागम पालको आँगनमा खाइयोस्। 27जुन कुरोले यो मासुलाई छुन्छ, त्यो पवित्र हुनेछ। अनि रगतबाट केही छिर्का कुनै लुगामा पर्यो भने तिमीहरूले त्यसलाई कुनै पवित्र ठाउँमा धुनुपर्छ। 28मासु पकाएको माटोको भाँडा फुटाइनुपर्छ। तर यदि त्यसलाई काँसोको भाँडामा पकाइएको हो भने त्यो भाँडालाई राम्ररी माझेर पानीमा पखाल्नुपर्छ। 29पुजारीका परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ, त्यो अति पवित्र हो। 30तर कुनै पाप शुद्धीकरण बलिको रगत पवित्र ठाउँमा प्रायश्चितका लागि समागम पालभित्र ल्याइयो भने त्यसलाई खानुहुँदैन। यसलाई आगोमा जलाइनुपर्छ।
अहिले सेलेक्ट गरिएको:
लेवी 6: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.