YouVersion लोगो
खोज आइकन

लेवी 26:3-18

लेवी 26:3-18 NCV

“ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्‍यौ भने, म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्। अङ्‌गुरको कटनीसम्म तिमीहरू दाइँ गरिरहेका हुनेछौ; र बिउ छर्ने समयसम्म तिमीहरूले अङ्‌गुर टिपिरहेका हुनेछौ। अनि तिमीहरूले आफूले पेटभरि भोजन खानेछौ; र आफ्नो देशमा सुरक्षित रहनेछौ। “ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन। तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। “ ‘म तिमीहरूलाई निगाहको दृष्‍टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु। तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ। म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ। म तिमीहरूको बीचमा हिँड्‍डुल गर्नेछु, र तिमीहरूका परमेश्‍वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु। “ ‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सबै आज्ञापालन गरेनौ, अनि यदि तिमीहरूले मेरा उर्दीहरू इन्कार गर्‍यौ र मेरा आज्ञाहरूलाई घृणा गर्‍यौ, र मेरा आज्ञाअनुसार चल्न असफल भयौ र यसरी मेरा करार भङ्ग गर्‍यौ भने, म तिमीहरूमा अचानक आतङ्क, निको नहुने रोगहरू र ज्वरो फैलाउनेछु; जसले तिमीहरूका दृष्‍टिलाई नष्‍ट गरिदिनेछन्। अनि तिमीहरूका प्राणलाई शिथिल पार्नेछन्। तिमीहरू व्यर्थैमा रोप्नेछौ; किनकि ती तिमीहरूका शत्रुहरूले खानेछन्। म आफ्नो अनुहार तिमीहरूका विरुद्धमा पार्नेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्। कसैले नखेदे तापनि तिमीहरू भाग्नेछौ। “ ‘यी सबै कुराहरू भइसकेपछि पनि यदि तिमीहरूले मेरा कुरा सुनेनौ भने म तिमीहरूलाई आफ्ना पापको लागि सात गुणा बढी दण्ड दिनेछु।

लेवी 26 पढ्नुहोस्