“‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्। दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्मै दाख बटुल्नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्क हुनेछौ। “‘म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन। तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ। तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्। “‘म तिमीहरूमाथि निगाह राख्नेछु, र तिमीहरूलाई फल्दो-फुल्दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्थिर गर्नेछु। तिमीहरूले सञ्चय गरेर राखेको पुरानै फसलको अन्न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्नचाहिँ हटाउनुपर्नेछ। तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु। म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्ने तुल्याएको छु। “‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ, र यी सबै आज्ञा पालन गरेनौ, र मेरा विधिहरूलाई घृणा गरेर इन्कार गर्यौ भने, अनि मेरा सम्पूर्ण आज्ञा नमानेर मेरो करार भङ्ग गर्यौ भने, म तिमीहरूका बीचमा आतङ्क फैलाउनेछु, अनि शरीर नष्ट पार्दैजाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदैलाने भयङ्कर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बीउहरू खेर जानेछन्, किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्। म तिमीहरूको विरोध गर्नेछु, र तिमीहरू शत्रुका हातबाट परास्त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्व गर्नेछन्, र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ। “‘तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको सात गुणा बढ़ी सजाय म तिमीहरूलाई दिनेछु।
लेवीहरू 26 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 26:3-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू