लेवी 24
24
याहवेहको सामु तेल र रोटी राखिएको
1याहवेहले मोशालाई भन्नुभयो, 2“इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्। 3समागम पालमा गवाही पर्दाको बाहिर हारूनले साँझदेखि बिहानसम्मै लगातार याहवेहको सामु बत्तीहरूको रेखदेख गरिरहोस्। यो भावी पुस्ताका लागि सदा रहिरहने विधि हुनुपर्छ। 4याहवेहको सामु निखुर सुनको पानसमा बत्तीहरूको रेखदेख लगातार भइरहनुपर्छ।
5“प्रत्येक रोटीको लागि एपाको दश भागको दुई भाग#24:5 लगभग 3.2 किलो प्रयोग गरेर मसिनो पिठोको बाह्र वटा रोटीहरू पकाउनू। 6तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू। 7याहवेहकहाँ अग्निबलि हुन दिनलाई र रोटीको प्रतिनिधित्व गर्नलाई सम्झनाको भागस्वरूप प्रत्येक लहरमा केही शुद्ध धूप बाल्नू। 8यी रोटीलाई इस्राएलीहरूको पक्षबाट सदाको करारस्वरूप याहवेहका सामु हरेक शब्बाथमा नियमित रूपले राख्नू। 9त्यो हारून र त्यसका छोराहरूका निम्ति हुनेछ, तिनीहरूले त्यसलाई पवित्र ठाउँमा खाऊन्। किनभने यो याहवेहका निम्ति आगोद्वारा चढाइएको बलिबाट तिनीहरूका नियमित अति पवित्र भाग हो।”
ईश्वर निन्दकलाई ढुङ्गाले हिर्काइएको
10अब एउटी इस्राएली आमा र इजिप्टियन बुबाको छोरा इस्राएलीहरूको बीचमा गयो। अनि त्यस इस्राएली स्त्रीको छोरा र इस्राएलीहरू बीचको छाउनीमा झगडा सुरु भयो। 11इस्राएली स्त्रीको छोराले सरापेर याहवेहको निन्दा गर्यो। त्यसकारण तिनीहरूले त्यसलाई मोशाकहाँ ल्याए। (त्यसकी आमाको नाम शलोमीत थियो, जो दान कुलको दिब्रीकी छोरी थिइन्।) 12याहवेहको इच्छा स्पष्ट नभएसम्म तिनीहरूले त्यसलाई थुनामा राखे।
13तब याहवेहले मोशालाई भन्नुभयो: 14“यस ईश्वर निन्दकलाई छाउनीबाहिर लैजानू। त्यसले बोलेका सुन्नेहरू सबैले त्यसको शिरमाथि हात राखून्। अनि सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्। 15इस्राएलीहरूलाई भन्: ‘यदि कसैले परमेश्वरलाई सराप्छ भने त्यो पापको जिम्मेवार ठहरिनेछ। 16यदि कसैले याहवेहको नामको निन्दा गर्छ भने त्यो मारियोस्। सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्। चाहे परदेशी होस् वा स्वदेशमा जन्मेको होस्। कसैले याहवेहको नामको निन्दा गर्यो भने त्यो मारियोस्।
17“ ‘यदि कसैले मानिसको हत्या गर्यो भने त्यो मारिनुपर्छ। 18जसले कसैको पशुलाई मार्छ भने त्यसले हर्जाना तिर्नुपर्छ—प्राणको साटो प्राण। 19यदि कसैले आफ्नो छिमेकीलाई चोट पार्यो भने त्यसले उसलाई जे गरेको छ, त्यसलाई पनि त्यसै गरियोस्। 20हाड भाँचिदिएको सट्टा हाड; आँखाको सट्टा आँखा; दाँतको सट्टा दाँत। जसरी त्यसले अरूलाई चोट पारेको छ, त्यसरी नै त्यस मानिसलाई पनि चोट पारिनुपर्छ। 21जसले कुनै पशु मार्छ, त्यसले हर्जाना तिर्नुपर्छ; तर जसले मानिस मार्छ, त्यो मारिनैपर्छ। 22परदेशी वा स्वदेशी मानिसका निम्ति तिमीहरूको एउटै कानुन हुनुपर्छ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ”
23त्यसपछि मोशाले इस्राएलीहरूसित कुरा गरे, र तिनीहरूले त्यस ईश्वर निन्दकलाई छाउनीबाहिर लगे, र ढुङ्गाले हिर्काए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे।
अहिले सेलेक्ट गरिएको:
लेवी 24: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.