YouVersion लोगो
खोज आइकन

यहोशू 2

2
राहाब र जासुसहरू
1तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई मानिसलाई जासुसी गर्न यसो भन्दै गुप्‍तमा पठाए: “जाओ, र त्यस देशलाई हेर, विशेष गरी यरीहोलाई।” यसकारण तिनीहरू गए, र राहाब नाम भएकी एउटी वेश्याको घरमा गए, र त्यहीँ बास बसे।
2यरीहोको राजालाई यसो भनियो, “सुन्‍नुहोस्, आज राति यस देशको भेद लिन भनी केही इस्राएलीहरू यहाँ आएका छन्।” 3यसकारण यरीहोको राजाले राहाबकहाँ यो समाचार पठाए: “तँकहाँ आएर तेरो घरभित्र बसेका मानिसहरूलाई बाहिर निकालेर ले; किनकि तिनीहरू समस्त देशको भेद लिन आएका छन्।”
4तर त्यस स्त्रीले ती दुई पुरुषहरूलाई लुकाएकी थिई। त्यसले भनी, “हो, ती पुरुषहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् भन्‍ने कुरा मलाई थाहा भएन। 5साँझमा सहरको मूलढोका बन्द हुने समयमा ती मानिसहरू गइहाले। तिनीहरू कुन बाटो गए, सो म जान्दिनँ। तिनीहरूको पछि झट्टै जानुहोस्। सायद तपाईंहरूले तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।” 6(तर जासुसहरूलाई त्यस स्त्रीले माथि कौसीमा लगेर आफूले मिलाएर राखेको सनपाटका डाँठहरूका थाकमुनि लुकाएकी थिई।) 7यसकारण ती मानिसहरू ती जासुसहरूलाई खोज्दै यर्दनको बाटोमा घाटहरूसम्म गए। अनि खोजी गर्दै जाने ती मानिसहरू जानसाथ मूलढोका बन्द भइहाल्यो।
8राति ती जासुसहरू सुत्नुभन्दा अगि त्यो स्त्री माथि कौसीमा गई। 9अनि जासुसहरूलाई भनी, “याहवेहले यो देश तपाईंहरूलाई दिनुभएको छ भनी म जान्दछु। अनि तपाईंहरूको भयङ्ककर डरले हामीलाई छोपेको छ। यसकारण देशमा बस्‍ने सबै मानिसहरू तपाईंहरूको कारण डरले भयभीत भएका छन्। 10तपाईंहरू इजिप्टबाट निस्केर आउँदा याहवेहले कसरी तपाईंहरूका निम्ति लाल समुद्रलाई सुकाइदिनुभयो; अनि यर्दनको पूर्वपट्टि तपाईंहरूले पूर्ण रूपमा नाश पार्नुभएका एमोरीहरूका दुवै राजाहरू, सीहोन र ओगलाई के गर्नुभयो भनी हामीले सुनेका छौँ। 11यो कुरा सुनेपछि तपाईंहरूको कारण हामी भयभीत भयौँ र हामी सबैको साहस हरायो; किनकि याहवेह तपाईंहरूका परमेश्‍वर, उहाँ नै माथि स्वर्गका र तल पृथ्वीका परमेश्‍वर हुनुहुन्छ।
12“यसकारण अब मलाई याहवेहको नाममा शपथ खानुहोस्। मैले तपाईंहरूप्रति देखाएको दयाको कारण तपाईंहरूले मेरो परिवारप्रति पनि दया देखाउनुहुनेछ। मलाई एउटा निश्‍चित चिन्ह दिनुहोस्, 13ताकि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरू र तिनीहरूका सबै परिवारका जनहरूका जीवनको रक्षा गरिदिनुहुनेछ, अर्थात् तपाईंहरूले हामीलाई मृत्युबाट बचाउनुहुनेछ।”
14ती जासुसहरूले तिनलाई यसरी सान्त्वना दिए, “तिमीहरूको प्राणको सट्टा हाम्रो प्राण। हामीले के गरिरहेका छौँ भनी तिमीले अरूलाई भनेनौ भने याहवेहले यो देश हामीलाई दिनुहुन्छ, तब हामी तिमीहरूप्रति दयालु हुनेछौँ र आफ्नो वचन पूरा गर्नेछौँ।”
15यसकारण त्यसले जासुसहरूलाई झ्यालबाट एउटा डोरीले तल ओह्राली; किनकि त्यो बसेकी घर सहरको पर्खालको एउटा भाग थियो। 16त्यो स्त्रीले तिनीहरूलाई भनी, “पहाडहरूतिर जानुहोस् र ती खोज्नेहरूले तपाईंहरूलाई भेट्टाउनेछैनन्। ती खोज्नेहरू फर्केर नआएसम्म तीन दिनसम्म त्यहीँ लुकिबस्‍नुहोस्। अनि मात्र आफ्नो बाटो लाग्नुहोस्।”
17ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ हामी पूरा गर्नेछौँ; 18जब हामी यस देशमा प्रवेश गर्छौँ, तब तिमीले हामीलाई निकालेको झ्यालमा यो रातो डोरी बाँधिराख्नू। तिमीले आफ्नो बुबाआमा, तिम्रो दाजुभाइहरू र सम्पूर्ण परिवारलाई तिम्रो घरभित्र ल्याउनू; 19तर यदि कोही तिम्रो घरबाट बाहिर सडकमा गयो र मर्‍यो भने त्यसको रगतको दोष त्यसकै शिरमा पर्नेछ; अनि हामी जिम्मेवार हुनेछैनौँ। तर तिमीसँग घरभित्र हुनेहरूमाथि कसैले हात लगायो भने त्यसको रगतको दोष हाम्रो शिरमा पर्नेछ। 20तर यदि हामीले के गर्दैछौँ, त्यो तिमीले बतायौ भने जुन शपथ तिमीले हामीलाई खान लगाएकी थियौ, सो शपथबाट हामी मुक्त हुनेछौँ।”
21त्यसले जवाफ दिई, “म राजी छु। तपाईंहरूले भन्‍नुभएअनुसार नै होस्।”
यसरी त्यसले तिनीहरूलाई पठाइदिई, र तिनीहरू गइहाले। अनि त्यसले झ्यालमा एउटा रातो डोरी बाँधी।
22अनि तिनीहरू गए, र पहाडमा पुगे। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। तिनीहरूलाई खोज्नेहरूले बाटोहरूमा खोजी गरे; तर तिनीहरूलाई भेट्टाउन नसकेपछि फर्केर आए। 23अनि ती दुई मानिसहरू पहाडबाट ओर्ले, र नदी तरेर नूनका छोरा यहोशूकहाँ आए। अनि तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए। 24तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै नै याहवेहले सम्पूर्ण देश हाम्रो हातमा दिनुभएको छ। सबै मानिसहरू हाम्रो कारण भयभीत भएका छन्।”

अहिले सेलेक्ट गरिएको:

यहोशू 2: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्