योएल 1
1
1पतूएलका छोरो योएलकहाँ आएको याहवेहको वचन।
सलहको आक्रमण
2हे प्रधानहरू हो, यो कुरा सुन;
यस देशमा बस्ने सबैले सुन।
के तिमीहरूका समयमा
अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?
3तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन,
र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्;
अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्।
4जे सलहको झुण्डले छोडेको थियो,
ती ठूला सलहहरूले खाइदिए;
जे ठूला सलहहरूले छोडेका थिए,
ती साना सलहहरूले खाइदिए;
जे साना सलहहरूले छोडेका थिए,
ती अरू सलहहरूले#1:4 यहाँ सलहका निम्ति प्रयोग गरिएका चार हिब्रू शब्दहरूको सही अर्थ के हो भन्ने निश्चित छैन। खाइदिए।
5जाग, हे मतवालाहरू हो, र रोओ!
हे सबै मद्य पिउनेहरू हो, विलाप गर;
नयाँ मद्यको कारण विलौना गर;
किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ।
6एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ,
जसका अनगन्ती शक्तिशाली सेना छन्;
तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्;
तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।
7त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ,
र मेरा नेभाराका रूखहरू नष्ट गरेको छ।
त्यसले हाँगाहरूलाई लाछेको छ,
र बोक्राहरू लाछेर फ्याँकिदिएको छ;
हाँगाहरूलाई सेतै पारिदिएको छ।
8आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति,
शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।
9याहवेहको भवनबाट
अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
याहवेहको सामु सेवा गर्ने
पुजारीहरू शोक गरिरहेका छन्।
10खेतहरू ध्वस्त पारिएका छन्,
र जमिन सुक्खा भएको छ;
अन्न नष्ट भएको छ,
नयाँ दाखमद्य सुकेको छ;
अनि जैतुनको तेल समाप्त भएको छ।
11हे किसानहरू हो, निराश होओ।
दाखबारीका किसानहरू, विलौना गर;
गहुँ र जौको निम्ति शोक गर;
किनकि खेतबारीको फसल नष्ट भएको छ।
12दाखको बोट सुकेको छ,
र नेभाराको रूख ओइलाएको छ;
अनार, खजूर र स्याउका रूखहरू,
खेतबारीका सबै रूखहरू सुकेका छन्।
निश्चय नै मानिसको
आनन्दको अन्त्य भएको छ।
पश्चात्तापको निम्ति आह्वान
13हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर;
हे वेदीका सेवकहरू हो, विलौना गर।
तिमीहरू जसले मेरा परमेश्वरको अगि सेवा गर्छौ,
आओ, भाङ्ग्रा लगाएर रात कटाओ;
किनकि याहवेहको भवनबाट
अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
14पवित्र उपवासको घोषणा गर;
पवित्र सभाको घोषणा गर।
अगुवाहरूलाई बोलाओ
र यस देशमा बस्नेहरू सबैलाई
तिमीहरूका परमेश्वर याहवेहको भवनमा ल्याओ,
र याहवेहलाई पुकार।
15हाय! त्यो दिन,
किनकि याहवेहको दिन नजिक छ;
त्यो दिन सर्वशक्तिमान् परमेश्वरबाट विनाशझैँ आउनेछ।
16के हाम्रा आँखाकै सामु
खानाहरू नष्ट गरिएको छैन र?
आनन्द र हर्ष
परमेश्वरको भवनमा बन्द गरिएको छैन र?
17माटोका डल्लामुनि नै
बिउहरू चाउरिएका छन्।
भण्डारहरू उजाड भएका छन्,
र अन्नका ढुकुटीहरू तोडिएका छन्;
किनकि अन्न सुकेको छ।
18कष्टले पशुप्राणीहरू कराउँदैछन्!
गाईबस्तुका बथानहरू विचलित भएका छन्;
किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन;
भेडाहरूका बगालले समेत कष्ट भोगिरहेका छन्।
19हे याहवेह, म तपाईंलाई पुकार्छु;
किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ,
र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ।
20जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्;
किनकि पानीका खोलाहरू सुकेका छन्,
र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।
अहिले सेलेक्ट गरिएको:
योएल 1: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.