YouVersion लोगो
खोज आइकन

इयोब 9

9
इयोबको संवाद
1तब इयोबले यस्तो जवाफ दिए:
2“वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु।
तर परमेश्‍वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र?
3उहाँसँग कसैले वाद-विवाद गर्न चाह्‍यो भने तापनि
मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।
4उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ।
उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?
5उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ,
अनि उहाँले आफ्नो रिसमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ।
6परमेश्‍वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्‍लाइदिनुहुन्छ,
र त्यसका खम्बाहरू थरथर काँप्छन्।
7उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन;
उहाँले ताराहरूको चमकलाई बन्द गर्नुहुन्छ।
8उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ,
र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ।
9उहाँ सप्‍तर्षि, मृगशिरा,
किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्‍टिकर्ता हुनुहुन्छ।
10उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्‌भुत कार्यहरू
र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ।
11जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ;
उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ।
12यदि उहाँले कसैबाट केही खोसेर लैजानुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र?
कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र?
13परमेश्‍वरले आफ्नो रिस थाम्नुहुन्‍न;
राहाबका#9:13 राहाब यो प्राचीन साहित्यको काल्पनिक सामुद्रिक जन्तु हो। सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्।
14“त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र?
उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र?
15यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ;
म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।
16यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनि
उहाँले मेरो कुरा सुन्‍नुहुन्छ भनी म विश्‍वास गर्दिनँ।
17उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ,
र कारणविना मेरा चोटहरू बढाइदिनुहुन्छ।
18उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्‍न,
तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ।
19यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ!
र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ?
20म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ;
म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ।
21“यद्यपि म दोषरहित छु,
मलाई मेरो आफ्नो कुनै वास्ता छैन;
म आफ्नै जीवनलाई तुच्छ ठान्छु।
22सबै कुरा एउटै हो; त्यसैले म भन्दछु,
‘उहाँले निर्दोष र दुष्‍ट मानिस दुवैलाई नाश गर्नुहुन्छ।’
23ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनि
निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्‍नुहुन्छ।
24जब दुष्‍ट मानिसको हातमा देश पर्छ;
यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ।
यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त?
25“मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्;
आनन्दको झलकविना नै ती उडेर जान्छन्।
26निगालाको डुङ्गा पानीमा सलल बगेझैँ,
र चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टिएझैँ, मेरा दिनहरू बितिरहेका छन्।
27‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु,
म आफ्नो अनुहारको उदासीपनलाई हटाएर मुस्कुराउँनेछु,’ भनि मैले भने तापनि
28आफूले भोगेका सबै कष्‍टहरूको कारण झन् म डराउँछु;
किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन।
29म पहिले नै दोषी ठहराइएको छु भने
मैले किन आफूलाई निर्दोष साबित गर्ने व्यर्थमा कोसिस गरूँ?
30यदि मैले आफूलाई हिउँले#9:30 अथवा साबुन नुहाएँ भने पनि,
र मेरा हात खरानी पानीले धोएँ तापनि
31तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ,
जसले गर्दा मेरा लुगाले समेत मलाई घिन मान्‍नेछ।
32“किनकि परमेश्‍वर मजस्तै मरणशील मानिस हुनुहुन्‍न,
म कसरी उहाँलाई जवाफ दिन सक्छु,
अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ।
33यदि परमेश्‍वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने,
यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए,
34परमेश्‍वरको लहुरो मबाट कसैले हटाऊन्,
ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्।
35तब म उहाँको डरविना नै बोल्नेथिएँ,
तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ।

अहिले सेलेक्ट गरिएको:

इयोब 9: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्