इयोब 5
5
1“यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र?
तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ?
2रिसले मूर्खलाई मार्छ,
र डाहले सोझा मानिसलाई मार्छ।
3म आफैँले मूर्खले जरा गाडेको देखेको छु,
तर अचानक त्यसको घर श्रापित भयो।
4त्यसका छोराछोरीहरू असुरक्षित छन्;
अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्।
5त्यसको अन्नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्,
काँडाहरूका बीचबाट पनि निकालेर लगिदिन्छन्;
र लोभीले त्यसको धन हडप्ने लालसा गर्छ।
6किनकि कठिनाइ माटोबाट उम्रँदैन,
न त विपत्ति भुइँबाट पलाउँछ।
7तरै पनि आगोको झिल्का माथि उडेझैँ
मानिस विपत्तिकै निम्ति जन्मन्छ।
8“तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्वरलाई बिन्ती चढाउनेथिएँ;
मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ।
9परमेश्वरले हामीले बुझ्नै नसकिने अद्भुत कार्यहरू,
र गन्नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ,
10उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ;
उहाँले खेतबारीमा पानी पठाउनुहुन्छ।
11उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ,
र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ।
12उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ,
ताकि तिनीहरूका हातले सफलता नपाऊन्।
13उहाँले बुद्धिमान्लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ;
र बठ्याइँ गर्नेहरूका योजनाहरूको चाँडै अन्त्य हुन्छ।
14तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछन्;
मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्।
15उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ;
उहाँले तिनीहरूलाई शक्तिशालीहरूका पञ्जाबाट बचाउनुहुन्छ।
16त्यसकारण गरिबको निम्ति आशा छ;
र अन्यायले आफ्नो मुख बन्द गर्छ।
17“धन्यको हो त्यो मानिस, जसलाई परमेश्वरले सुधार गर्नुहुन्छ;
यसकारण सर्वशक्तिमान् परमेश्वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्।
18किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ;
उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ।
19उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ;
सातौँ विपत्तिले समेत तपाईंलाई छुनेछैन।
20उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट,
र युद्धमा तरवारको प्रहारबाट बचाउनुहुनेछ।
21तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ,
र विनाश आउँदा पनि डराउनुपर्नेछैन।
22तपाईं विनाश र अनिकालमा हास्नुहुनेछैन;
र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन।
23किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ;
र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्।
24तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ;
तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैनौ,
र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैनौ।
25तपाईंका छोराछोरी धेरै हुनेछन्,
र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ।
26ठिक ऋतुमा बाली बटुलेझैँ,
तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ।
27“हामीले यी कुरा जाँचेका छौ, र यो सत्य हो।
यसैले यो कुरा सुन्नुहोस् र आफैँमा यो लागू गर्नुहोस्।”
अहिले सेलेक्ट गरिएको:
इयोब 5: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.