इयोब 12
12
इयोबको संवाद
1तब इयोबले जवाफ दिएर भने:
2“निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्ने मानिसहरू हुनुहुन्छ,
र बुद्धि तपाईंहरूसँगै मर्नेछ!
3तर तपाईंहरूसँग भएझैँ मसँग पनि समझ छ;
म पनि तपाईंहरूभन्दा कमको छैनँ।
यी सबै कुरा कसले जान्दैन र?
4“यद्यपि मैले परमेश्वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो—
तर पनि म आफ्ना साथीहरूको निम्ति एउटा हाँसोको पात्र बनेको छु,
धर्मी र निर्दोष मानिस त एउटा हाँसोको पात्र पो बनिँदो रहेछ!
5सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्;
र खुट्टा चिप्लनेहरूका खुट्टा तान्ने गर्छन्।
6परमेश्वर तिनीहरूकै हातमा भएझैँ,
चोरहरू घरमा शान्तिसँग बस्दछन्,
र परमेश्वरलाई रिस उठाउनेहरू सुरक्षित छन्।
7“तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्;
अथवा आकाशका चराचुरुङ्गीहरूलाई पनि सोध्नुहोस्,
तिनीहरूले तपाईंहरूलाई बताइदिनेछन्;
8अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ;
अथवा समुद्रका माछाहरूले तपाईंहरूलाई बताइदेऊन्।
9यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी
यीमध्ये कसलाई थाहा छैन र?
10हरेक प्राणीको जीवन र
सबै मानव-जातिको सास पनि उहाँकै हातमा छ।
11जिब्रोले भोजनको स्वाद चाखेजस्तै
के कानले शब्दहरूको जाँच गर्दैन र?
12के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र?
के जीवनको दीर्घायुले समझ ल्याउँदैन र?
13“बुद्धि र शक्ति परमेश्वरका हुन्;
परामर्श र समझशक्ति उहाँकै छ।
14उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन;
उहाँले कैद गर्नुभएकोलाई कसैले छुटाउन सक्दैन।
15यदि उहाँले पानीलाई रोक्नुभयो भने खडेरी पर्छ;
यदि उहाँले पानीलाई छोडिदिनुभयो भने त्यसले जमिनलाई विध्वंस पार्छ।
16शक्ति र बुद्धि परमेश्वरका हुन्;
धोका दिने र धोका खाने दुवै उहाँकै हुन्।
17उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ।
र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ।
18उहाँले राजाहरूद्वारा बाँधिएका बन्धनहरूलाई फुकाइदिनुहुन्छ
र तिनीहरूका कम्मरमा पेटी बाँधिदिनुहुन्छ।
19उहाँले पुजारीहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ
र धेरै अगाडिदेखि अधिकार गर्ने शासकहरूलाई खसालिदिनुहुन्छ।
20उहाँले भरपर्दा सल्लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ,
र प्रधानहरूका अन्तर्दृष्टिलाई हटाइदिनुहुन्छ।
21उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ
र शक्तिशालीहरूलाई निःशस्त्र तुल्याउनुहुन्छ।
22उहाँले अन्धकारमा भएका गहिरा कुराहरूलाई प्रकट गर्नुहुन्छ,
र घोर अन्धकारलाई ज्योतिमा ल्याउनुहुन्छ।
23उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ;
उहाँले राष्ट्रहरूलाई बढाउनुहुन्छ, र तिनीहरूलाई तितरबितर पनि पार्नुहुन्छ।
24उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्नुहुन्छ;
र तिनीहरूलाई बाटो नभएको बिरानो ठाउँमा भौँतारिने बनाउनुहुन्छ।
25तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्;
र उहाँले तिनीहरूलाई मातेको मानिसजस्तै धरमरिँदै हिँड्ने बनाउनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
इयोब 12: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.