त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्टिविहीन थिएँ, तर अब देख्ने भएको छु!”
तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्यो? उसले कसरी तेरा आँखा खोलिदियो?”
त्यसले भन्यो, “मैले तपाईंहरूलाई अगि नै भनिसकेँ, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्न चाहनुहुन्छ?”
तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो त्यसको चेलो होस्! हामी त मोशाका चेला हौँ! परमेश्वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ; तर यस मानिसको विषयमा यो कहाँबाट आएको हो भन्ने कुरासमेत हामी जान्दैनौँ।”
त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरा! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्नुहुन्न; तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो। हामी जान्दछौँ, परमेश्वरले पापीहरूका कुरा सुन्नुहुन्न, तर उहाँले परमेश्वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्नुहुन्छ। आजसम्म कसैले जन्मैको दृष्टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन। यदि उहाँ परमेश्वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”
यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ त पूर्णतया पापमा जन्मिएको थिइस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।
तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएपछि भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?”
त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्वास गर्नेछु।”
येशूले भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।”
तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्यो।
येशूले भन्नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्टिविहीन होऊन्।”