त्यसकारण उहाँ सामरियाको सुखार भन्ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो। त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो।
जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?” (उहाँका चेलाहरू खानेकुरा किन्न सहरमा गएका थिए।)
त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
येशूले त्यसलाई भन्नुभयो, “यदि तिमीले परमेश्वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”
त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ? के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”
येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ। तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।”
त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
उहाँले त्यसलाई भन्नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।”
त्यसले जवाफ दिई, “मेरो पति छैन।”
येशूले त्यसलाई भन्नुभयो, “तिम्रो पति छैन भनेर तिमीले ठिकै भन्यौ। वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।”
त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ। हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।”
येशूले भन्नुभयो, “ए नारी, मलाई विश्वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ। तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ। तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।”
त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्ट गरिदिनुहुनेछ।”
तब येशूले भन्नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”
त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्।