त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे, र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्। त्यसपछि आफ्नो गाग्रो त्यहीं छोडेर त्यो स्त्री शहरतिर फर्केर गई र मानिसहरूलाई भनी, “आओ, र एकजना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्ट ता हुनुहुन्न?” तिनीहरू शहरबाट निस्केर उहाँकहाँ गए। यसै समयमा उहाँका चेलाहरूले उहाँलाई “गुरुज्यू, केही भोजन गर्नुहोस्” भनी विन्ती गरे। तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।” त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?” येशूले भन्नुभयो, “मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो। के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ। अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बीउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्। त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्ने भनाइ सत्य छ। मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्, अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।” “मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीका कारण त्यस शहरका धेरै सामरीहरूले उहाँमाथि विश्वास गरे। यसकारण सामरीहरू उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न अनुरोध गरे; अनि उहाँ दुई दिनसम्म त्यहाँ बस्नुभयो। अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्वास गरे। तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्वास गरेका होइनौं, तर अब ता हामी आफैले सुनेका छौं, र हामी यो जान्दछौं कि, उहाँ साँच्चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।”
यूहन्ना 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 4:27-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू