YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 19:1-18

यूहन्‍ना 19:1-18 NCV

त्यसपछि पिलातसले येशूलाई कोर्राले हान्‍न लगाए। अनि सिपाहीहरूले काँडाहरू बटारेर एउटा मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँलाई बैजनी लुगा पहिर्‍याइदिए। घरी-घरी येशूकहाँ आएर “यहूदीहरूका राजाको जय होस्!” भने। अनि तिनीहरूले येशूलाई मुखमा थप्पड लगाए। फेरि एक पल्ट बाहिर निस्केर पिलातसले यहूदीहरूलाई भने, “हेर! म यसलाई अब तिमीहरूका सामु बाहिर ल्याउँदैछु; ताकि तिमीहरूलाई यो स्पष्‍ट थाहा होस्, यस मानिसमा मैले कुनै दोष भेट्टाइनँ।” जब येशू काँडाको मुकुट र बैजनी लुगा लगाएरै बाहिर आउनुभयो, तब पिलातसले भने, “हेर! यो मान्छेलाई!” उहाँलाई देख्नेबित्तिकै मुख्य पुजारीहरू र हाकिमहरू यसरी चिच्याउन थाले, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! क्रूसमा टाँग्नुहोस्!” तर पिलातसले भने, “तिमीहरूले नै यिनलाई क्रूसमा टाँग; किनकि म त यिनलाई दोष लगाउने कुनै आधार पाउँदिनँ।” यहूदीहरूले तिनलाई उत्तर दिए, “हाम्रो आफ्नै व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मानिस मर्नैपर्छ; किनकि यसले आफूलाई परमेश्‍वरको पुत्र भनेर दाबी गरेको छ।” जब पिलातसले यो कुरा सुने, तब तिनी झन् धेरै डराए। तिनले फेरि येशूलाई महलभित्र लगे, र उहाँलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले केही जवाफ दिनुभएन। पिलातसले सोधे, “के तिमी मलाई उत्तर दिँदैनौ? तिमीलाई छोडिदिने अथवा क्रूसमा टाँग्ने अधिकार मसित छ भनी के तिमी जान्दैनौ?” तब येशूले भन्‍नुभयो, “यदि माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। त्यसकारण मलाई तपाईंकहाँ ल्याउने व्यक्ति अझ बढ्ता पापको दोषी छ।” यो सुनेर पिलातसले येशूलाई छोडिदिने कोसिस गरे। तर यहूदीहरूले चिच्याउँदै भने, “तपाईंले यस मान्छेलाई छोडिदिनुभयो भने तपाईं सिजरका मित्र हुनुहुन्‍न। आफूलाई राजा घोषणा गर्ने जो कोही पनि सिजरको विरोधी हुन्छ।” यो कुरा सुनेर पिलातसले फेरि येशूलाई बाहिर तिनीहरूका अगि ल्याए, र आफूचाहिँ ढुङ्गाको पाटी हिब्रू भाषामा “गब्बथा” भनिने न्याय आसनमाथि बसे। यतिबेला निस्तार चाडको तयारी गर्ने दिनको मध्यान्ह भएको थियो। अनि पिलातसले यहूदीहरूलाई भने, “लौ हेर, तिमीहरूको राजा!” तर तिनीहरूले चिच्याउँदै भने, “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँगूँ?” मुख्य पुजारीहरूले चिच्याएर जवाफ दिए, “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।” आखिरमा पिलातसले येशूलाई क्रूसमा टँगाइनका लागि तिनीहरूका हातमा सुम्पिदिए। त्यसपछि सिपाहीहरूले येशूको जिम्मा लिए। येशू आफ्नो क्रूस आफैँले बोकेर खप्परे भनिने ठाउँमा (आरामाईक भाषामा गलगथा भनिन्छ) पुग्नुभयो। त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अरू दुई जनालाई पनि उहाँसँगै एक जनालाई दायाँपट्टि र अर्कोलाई बायाँपट्टि र येशूलाई माझमा टाँगे।

यूहन्‍ना 19 पढ्नुहोस्