YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 13:21-38

यूहन्‍ना 13:21-38 NCV

यति भनिसक्नुभएपछि येशू आत्मामा धेरै व्याकुल हुनुभयो, र उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।” उहाँले कसलाई भन्‍नुभएको हो भनेर अलमलमा परी चेलाहरूले एक-अर्कालाई हेराहेर गरे। येशूले प्रेम गर्नुहुने चेला उहाँकै छेउमा अडेस लागेर बसिरहेका थिए। सिमोन पत्रुसले यिनै चेलालाई इशारा गरेर भने, “उहाँले कसलाई भन्‍नुभएको हो? उहाँलाई सोध।” येशूको शरीरमा अडेस लागेर तिनले सोधे, “प्रभु त्यो को हो?” येशूले जवाफ दिनुभयो, “मैले यो रोटीको टुक्रा भाँडामा चोपेर जसलाई दिन्छु, त्यो त्यही हो।” अनि उहाँले रोटी चोपेपछि सिमोनको छोरा यहूदा इस्करियोतलाई दिनुभयो। यहूदाले त्यो रोटी लियो, र त्यसपछि शैतान त्यसभित्र पसिहाल्यो। तब येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गर्नु छ, चाँडो गरिहाल।” येशूले त्यसलाई यो किन भन्‍नुभयो त्यसको अर्थ त्यहाँ खान बस्‍नेहरूमध्ये कसैले पनि बुझेनन्। यहूदाले पैसाको हिसाब राख्ने भएको हुँदा सायद चाडको निम्ति आवश्यक कुनै कुरा किन्‍न अथवा केही पैसा गरिबहरूलाई दिन भनी येशूले अह्राउनुभएको होला भनी कतिले ठाने। रोटी लिएपछि यहूदा तुरुन्तै बाहिर निस्क्यो। त्यस बेला रात परेको थियो। यहूदा कोठाबाट बाहिर गएपछि येशूले भन्‍नुभयो, “अब मानिसको पुत्रको महिमा भएको छ, र उसमा परमेश्‍वरको महिमा भएको छ।” यदि परमेश्‍वर उसमा महिमित हुनुभयो भने परमेश्‍वरले उसलाई आफैँमा महिमित पार्नुहुनेछ, र उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ। “हे मेरा बालकहरू हो, अब म तिमीहरूसँग केही बेर मात्र रहन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि यहूदी अगुवाहरूलाई भनेझैँ म अब तिमीहरूलाई पनि भन्छु: म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ। “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ। तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने त्यसैबाट तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्‍नेछन्।” सिमोन पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ, तर पछि तिमीले मलाई पछ्याउनेछौ।” पत्रुसले सोधे, “प्रभु, म अहिले तपाईंसँग किन आउन सक्दिनँ र? म त तपाईंका निम्ति प्राण दिन पनि तयार छु।” तब येशूले भन्‍नुभयो, “के तिमीले साँच्‍चै आफ्नो जीवन मेरो लागि दिन्छौ? म तिमीलाई साँच्‍चै भन्दछु, भोलि बिहान भाले बास्‍नुअगि नै तिमीले मलाई ‘चिन्दिनँ’ भनी तीन पल्ट अस्वीकार गर्नेछौ!”

यूहन्‍ना 13 पढ्नुहोस्