YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 13:21-38

यूहन्‍ना 13:21-38 NNRV

यी कुरा भनेपछि येशू आत्‍मामा व्‍याकुल हुनुभयो र उहाँले गवाही दिई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये एक जनाले मलाई पक्राइदिनेछ।” उहाँले कसको विषयमा भन्‍नुभएको हो भनी अनिश्‍चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे। उहाँका चेलाहरूमध्‍ये येशूले प्रेम गर्नुहुने चेलाचाहिँ येशूको छातीमा अड़ेस लागिरहेका थिए। तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्‍नुभएको हो?” येशूको छातीमा त्‍यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्‍यो को हो?” येशूले जवाफ दिनुभयो, “जसलाई म रोटीको टुक्रा चोपेर दिन्‍छु, त्‍यो त्‍यही हो।” तब उहाँले रोटीको टुक्रा चोप्‍नुभयो, र निकालेर त्‍यो सिमोनको छोरो यहूदा इस्‍करियोतलाई दिनुभयो। रोटीको टुक्रा लिएपछि शैतान त्‍यसभित्र पस्‍यो। तब येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीलाई जे गर्नु छ, सो चाँड़ै गरिहाल।” तर उहाँले किन त्‍यसलाई यसो भन्‍नुभयो भनी भोजन गर्न बसेकाहरू कसैले पनि बुझेनन्‌। किनभने कसै-कसैले यो सोचे, कि यहूदासँग पैसाको थैलो छ, यसैले येशूले त्‍यसलाई चाड़को निम्‍ति चाहिएको सामग्री किनोस्, अथवा त्‍यसले गरीबहरूलाई केही देओस्‌ भन्‍नुभएको हो। तब रोटीको टुक्रा लिएपछि यहूदा इस्‍करियोत तुरुन्‍तै बाहिर निस्‍किहाल्‍यो। त्‍यस बेला रात परेको थियो। जब त्‍यो बाहिर गयो तब येशूले भन्‍नुभयो, “अब मानिसको पुत्र महिमित भएको छ, र परमेश्‍वर उसमा महिमित हुनुभएको छ। यदि परमेश्‍वर उसमा महिमित हुनुभएको छ भने परमेश्‍वरले आफैमा उसलाई महिमित पार्नुहुनेछ, अनि उसलाई तुरुन्‍तै महिमित तुल्‍याउनुहुनेछ। “साना बालक हो, केही बेरसम्‍म म तिमीहरूसँग छु! तिमीहरूले मलाई खोज्‍नेछौ, र जसो मैले यहूदीहरूलाई भनें, अब तिमीहरूलाई पनि म भन्‍दछु, ‘जहाँ म गइरहेछु, तिमीहरू आउन सक्‍दैनौ।’ “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।” सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ गइरहेछु, तिमी अहिले मलाई पछ्याउन सक्‍दैनौ, तर पछि त तिमीले मलाई पछ्याउनेछौ।” पत्रुसले उहाँलाई भने, “प्रभु, म किन अहिले नै तपाईंलाई पछ्याउन सक्‍दिनँ? तपाईंको निम्‍ति म आफ्‍नो प्राण दिनेछु।” येशूले जवाफ दिनुभयो, “के तिमी आफ्‍नो प्राण मेरो निम्‍ति दिनेछौ? साँच्‍चै म तिमीलाई भन्‍छु, तिमीले मलाई तीन पल्‍ट इन्‍कार नगरेसम्‍म भाले बास्‍नेछैन।”