येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, “ढुङ्गा हटाओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।” येशूले भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?” त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद। तपाईंले मेरो कुरा सधैँ सुन्नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।” यो कुरा भन्नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!” अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।” जब मरियमलाई भेट्न आएका धेरै यहूदीहरू, जसले येशूले गर्नुभएको यो अचम्मको काम देखे, तब तिनीहरूले उहाँमाथि विश्वास गरे। कति जनाचाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कुरा तिनीहरूलाई सुनाइदिए। त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले एउटा महासभा बोलाए। “अब हामी के गरौँ?” तिनीहरूले आपसमा प्रश्न गरे, “यस मानिसले त साँच्चै अलौकिक चिन्हहरू गरेर देखाउँदैछ। अब हामीले यसलाई त्यसै छोडिदियौँ भने सबै मानिसहरूले यसमाथि विश्वास गर्नेछन्। अनि रोमीहरू हामीमाथि आइलाग्नेछन् र हाम्रो पवित्रस्थान र जातिलाई कब्जा गर्नेछन्।” तिनीहरूमध्ये त्यस वर्षको प्रधान पुजारी कैयाफाले भने, “तिमीहरूलाई केही पनि थाहा छैन! मानिसहरूका निम्ति सम्पूर्ण जाति नाश हुनुभन्दा यो एउटा मानिस मर्नु नै असल हुन्छ भनी तिमीहरू महसुस गर्दैनौ?” कैयाफा आफूले सोचेर यसो भनेका थिएनन्, तर उनी प्रधान पुजारी भएको हुनाले येशू सम्पूर्ण यहूदी राष्ट्रका निम्ति मर्नुपर्छ भन्ने अगमवाणी तिनको मुखबाट निस्केको थियो। अनि त्यस राष्ट्रका लागि मात्र होइन, तर संसारभरि छरिएर बसेका परमेश्वरका सन्तानका निम्ति तिनीहरूलाई जम्मा गर्न र एउटै बनाउनलाई येशू मर्नुहुनेछ भन्ने यो भविष्यवाणी भएको थियो। यसकारण त्यही समयदेखि तिनीहरूले येशूलाई मार्ने षड्यन्त्र रच्न थाले। त्यसकारण येशू यहूदीहरूका बीचमा खुल्लमखुल्ला हिँड्नुभएन। उहाँ उजाडस्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्ना चेलाहरूसँग बस्नुभयो। यहूदीहरूको निस्तार चाड नजिकै थियो। निस्तार चाड सुरु हुनुअगि शुद्धी-संस्कार पालन गर्न भनेर गाउँ-बस्तीबाट धेरै मानिसहरू यरूशलेम आएका थिए। तिनीहरू सबैले येशूलाई खोजे, र मन्दिरमा उभिरहेका बेला तिनीहरूले आपसमा यसरी सोधखोज गरे, “तिम्रो के विचार छ? उहाँ निस्तार चाडको लागि आउनुहुन्न होला र?” तर मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन सकियोस् भनेर कसैले येशूलाई देख्यो भने त्यसले तिनीहरूलाई खबर गर्नू भन्ने आज्ञा दिएका थिए।
यूहन्ना 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 11:38-57
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू