YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:17-44

यूहन्‍ना 11:17-44 NCV

येशू आइपुग्नुहुँदा लाजरस मरेर चिहानमा राखेको चार दिन भइसकेको थियो भनेर उहाँले थाहा पाउनुभयो। यरूशलेमदेखि बेथानी लगभग तीन किलोमिटर टाढामा थियो। धेरै यहूदीहरू, मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए। येशू आउँदैहुनुहुन्छ भन्‍ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिरहिन्। मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन। हुन त अहिले पनि तपाईंले परमेश्‍वरसँग जस्तोसुकै बिन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।” येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।” मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरूको पुनरुत्थान हुँदा ऊ पनि जीवित पारिनेछ।” येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्‍वास गर्ने मर्‍यो भने पनि ऊ जीवित हुनेछ। जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्‍वास गर्छ्यौ?” “निश्‍चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्‍वरको पुत्र, ख्रीष्‍ट तपाईं नै हुनुहुन्छ भनी म विश्‍वास गर्छु।” अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई सुटुक्‍क बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहँदैहुनुहुन्छ।” यो सुनेर मरियम तुरुन्तै उठेर येशूकहाँ गइन्। येशू अझै पनि त्यस गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो। मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे। जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।” मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो। “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।” येशू रुनुभयो। यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!” तर कतिले भने, “दृष्‍टिविहीनलाई दृष्‍टि दिने यी मानिसले लाजरसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?” येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “ढुङ्गा हटाओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।” येशूले भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?” त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद। तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्‍वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।” यो कुरा भन्‍नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!” अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।”

यूहन्‍ना 11 पढ्नुहोस्