YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:17-36

यूहन्‍ना 11:17-36 NCV

येशू आइपुग्नुहुँदा लाजरस मरेर चिहानमा राखेको पनि चार दिन भइसक्यो भनेर उहाँले थाहा पाउनुभयो। यरूशलेमदेखि बेथानी लगभग तीन किलोमिटर टाढा थियो। धेरै यहूदीहरू, मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए। येशू आउँदै हुनुहुन्छ भन्‍ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिन्। मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन। हुन त अहिले पनि तपाईंले परमेश्‍वरसँग जेसुकै विन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।” येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।” मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरू पुनर्जीवित हुँदा ऊ पनि जीवित पारिनेछ।” येशूले तिनलाई भन्‍नुभयो, “जीवित पार्ने र जीवन दिने म नै हुँ। ममाथि विश्‍वास गर्ने मर्‍यो भने पनि ऊ जीवित हुनेछ। जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन; मार्था, के तिमी यो विश्‍वास गर्छ्यौ?” “निश्‍चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्‍वरको पुत्र, ख्रीष्‍ट तपाईं नै हुनुहुन्छ भनी म विश्‍वास गर्छु।” अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई अलग्गै बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहनुहुन्छ।” यो सुनेर मरियम तुरुन्तै उठिन् र येशूकहाँ गइन्। येशू अझै पनि गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो। मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी होलिन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे। जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्नेथिएन।” मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि मरियमसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो। “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।” येशू रुनुभयो। यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!”

यूहन्‍ना 11 पढ्नुहोस्