YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:17-36

यूहन्‍ना 11:17-36 NNRV

जब येशू आइपुग्‍नुभयो, तब लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको थाहा पाउनुभयो। बेथानिया यरूशलेमदेखि नजिकै प्राय: तीन किलोमिटरको दूरीमा थियो। धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनका भाइको विषयमा तिनीहरूलाई सान्‍त्‍वना दिन आएका थिए। येशू आइरहनुभएको छ भन्‍ने सुनेर मार्था गइन्‌ र उहाँलाई भेटिन्‌। तर मरियम घरैमा बसिरहिन्‌। तब मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन। तर अब पनि म जान्‍दछु, तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्‍छ, परमेश्‍वरले तपाईंलाई दिनुहुनेछ।” येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।” मार्थाले उहाँलाई भनिन्, “म जान्‍दछु, कि त्‍यो अन्‍त्‍यका दिनको पुनरुत्‍थानमा फेरि जीवित भई उठ्‌नेछ।” येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?” तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्‍ट, परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” यति भनेर तिनी गइहालिन्, र आफ्‍नी बहिनी मरियमलाई बोलाएर सुटुक्‍क भनिन्, “गुरुज्‍यू आइपुग्‍नुभयो, र तिमीलाई बोलाउँदैहुनुहुन्‍छ।” यो सुनेर मरियम झट्टै उठेर उहाँकहाँ गइन्‌। त्‍यस बेलासम्‍म येशू गाउँमा आइपुग्‍नुभएको थिएन, तर उहाँ त्‍यही ठाउँमा हुनुहुन्‍थ्‍यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्‌। घरमा तिनलाई सान्‍त्‍वना दिन आएका यहूदीहरूले मरियम झट्टै उठेर बाहिर गएकी देखेर, तिनी त्‍यो चिहानमा रुन गएकी हुन्‌ भन्‍ठानेर, तिनको पछि लागे। जब मरियम येशू हुनुभएको ठाउँमा आइन्‌ र उहाँलाई देखिन्, तब यसो भन्‍दै तिनी उहाँका पाउमा परिन्, “हे प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।” जब येशूले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहूदीहरू पनि रोइरहेका देख्‍नुभयो, तब उहाँ आत्‍मामा ज्‍यादै व्‍याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो। उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आएर हेर्नुहोस्‌।” येशू रुनुभयो। यसकारण यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्‍थ्‍यो।”