यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ:
“अश्शूरको राजालाई मैले दण्ड दिएझैँ,
बेबिलोनको राजा र त्यसको देशलाई पनि म दण्ड दिनेछु।
तर म इस्राएललाई तिनीहरूको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु;
अनि त्यो कर्मेल र बाशानमा चर्नेछ;
तिनीहरूको भोक एफ्राइम र गिलादका
पहाडहरूमा तृप्त हुनेछ।
ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ,
“इस्राएलको अपराध खोजिनेछ,
तर त्यहाँ एउटै पनि पाइनेछैन;
अनि यहूदाका पापहरू पनि खोजिनेछ,
तर केही पनि फेला पर्नेछैन;
किनकि मैले बचाइराखेको बाँकी मानिसहरूलाई म क्षमा गर्नेछु।
“मरातैमको देशलाई
र पेकोदमा बस्नेहरूलाई आक्रमण गर।
तिनीहरूलाई लखेट, मार र सम्पूर्ण रूपले नष्ट गर,”
याहवेह घोषणा गर्नुहुन्छ।
मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पूरा गर।
देशमा युद्धको हल्ला सुनिँदैछ,
ठूलो विनाशको होहल्ला भएको छ!
हेर, सारा पृथ्वीको घन बेबिलोन
कसरी टुक्रिएकी छे र चकनाचुर भएकी छे!
राष्ट्रहरूका बीचमा
बेबिलोन कति उजाड भएकी छे!
हे बेबिलोन, मैले तेरा लागि पासो थापेको छु;
अनि तैँले थाहा पाउन अगि नै तँ पासोमा परिसकेकी छेस्;
तँ फेला परिस् र कब्जामा परिस्;
किनकि तँ याहवेहको विरोधमा खडा भइस्।
याहवेहले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ,
र आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ;
किनकि प्रभु सेनाहरूका याहवेहले
बेबिलोनीहरूका देशमा आफ्नो काम गर्नुपर्नेछ।
टाढा देशबाट बेबिलोनको विरुद्धमा आओ।
त्यसका अन्नका भण्डारहरू भत्काइदेओ;
बेबिलोनलाई अन्नको थुप्रोझैँ थुपारी देओ।
त्यसलाई पूर्ण रूपमा नाश गरिदेओ,
र त्यसको लागि कसैलाई बाँकी नराख।
त्यसका सबै जवान साँढेहरूलाई मारिदेओ;
तिनीहरू काटिने ठाउँमा जाऊन्!
तिनीहरूलाई धिक्कार छ!
किनकि तिनीहरूको समय आएको छ;
तिनीहरूको दण्डको समय आएको छ।
बेबिलोनबाट भाग्नेहरू र शरण लिने मानिसहरूले
सियोन पर्वतमा घोषणा गरिरहेका छन्, सो कुरा सुन,
“याहवेह हाम्रा परमेश्वरले बेबिलोनीहरूलाई उहाँको मन्दिर भत्काएको कारण
उहाँले कसरी बदला लिनुभएको छ।
“धनुकाँड चलाउन सक्ने सबै सिपालु धनुर्धारीहरूलाई
बेबिलोनको विरुद्धमा बोलाओ।
त्यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ;
एउटै पनि भाग्न नपाओस्।
त्यसले गरेका कामहरूको बदला लेओ;
त्यसले जस्तो गरेकी छे, त्यसलाई त्यस्तै व्यवहार गर।
किनकि त्यसले इस्राएलका याहवेह
पवित्र परमेश्वरलाई घमण्डसाथ अवहेलना गरेकी छे।
यसकारण त्यसका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्;
त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,”
याहवेह घोषणा गर्नुहुन्छ।
“हेर, हे अहङ्कारी बेबिलोन, म तेरो विरुद्धमा छु,”
प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ;
“किनकि तेरो दिन आएको छ,
तेरो दण्ड पाउने समय आएको छ।
त्यो अहङ्कारी बेबिलोन ठक्कर खाएर लड्नेछे,
र त्यसलाई कसैले पनि उठ्न सहायता गर्नेछैन;
म त्यसका सहरहरूमा आगो लगाइदिनेछु,
र त्यस आगोले त्यसका चारैतिर भएका अहङ्कारीहरू सबैलाई भस्म पारिदिनेछ।”
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ:
“इस्राएलका मानिसहरू थिचोमिचोमा परेका छन्;
अनि यहूदाका मानिसहरू पनि थिचोमिचोमा छन्।
तिनीहरू दुवैलाई कैद गरेर लैजानेहरू सबैले
तिनीहरू दुवैलाई छोडिदिन इन्कार गर्छन्।
तापनि तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ;
उहाँको नाम सेनाहरूका याहवेह हो।
उहाँले तिनीहरूको पक्षमा लड्नुहुनेछ,
ताकि उहाँले पृथ्वीमा भएका सबै मानिसहरूमाथि शान्ति ल्याउनुहुनेछ,
तर बेबिलोनमा बस्ने मानिसहरूमा चाहिँ अशान्ति ल्याउनुहुनेछ।
“बेबिलोनीहरूको विरुद्धमा एउटा तरवार परेको छ!”
याहवेह घोषणा गर्नुहुन्छ—
“बेबिलोनमा बस्ने मनिसहरूको विरुद्धमा,
त्यसका अधिकारीहरू र बुद्धिमान् मानिसहरूको विरुद्धमा!
तिनीहरूका झूटा अगमवक्ताहरूको विरुद्धमा तरवार चलेको छ!
तिनीहरू मूर्ख हुनेछन्।
त्यसका योद्धाहरूको विरुद्धमा तरवार परेको छ!
तिनीहरू त्रासले भरिनेछन्।
त्यसका घोडाहरू, रथहरू
र त्यसका साथमा रहेका सबै विदेशीहरूको विरुद्धमा तरवार चलेको छ!
तिनीहरू स्त्रीहरूझैँ दुर्बल हुनेछन्।
तिनीहरूका धनका भण्डारहरूको विरुद्धमा तरवार परेको छ!
ती धनका भण्डारहरू लुटिनेछन्।
देशका पानीका मुहानहरूमा खडेरी परोस्!
त्यसका नदीहरू सबै सुकोस्।
किनकि बेबिलोन मूर्तिहरूको देश हो,
ती मूर्तिहरूले मानिसहरूलाई त्रसित बनाएका छन्।
“यसकारण त्यहाँ मरुभूमिका जङ्गली जनावर र हुँडारहरू बस्नेछन्;
अनि त्यहाँ उल्लुहरू बास गर्नेछन्।
त्यहाँ फेरि पुस्तादेखि पुस्तासम्म,
मानिसहरूले फेरि कहिल्यै बास बस्नेछैनन्।
जसरी मैले सदोम र गमोरालाई
तिनीहरूका चारैतिरका सहरहरूसितै नाश गरेँ,”
याहवेह घोषणा गर्नुहुन्छ,
“त्यसरी नै त्यहाँ कोही पनि मानिस बास बस्नेछैन;
त्यहाँ कुनै मानव-जाति बसोबास गर्नेछैन।
“हेर! उत्तरबाट एक दल सेना आउँदैछ;
पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई
र धेरै राजाहरूलाई सुर्याइरहेको छ।
तिनीहरू धनु र भालाहरूले सुसज्जित छन्;
तिनीहरू निष्ठुर र निर्दयी छन्।
तिनीहरू आ-आफ्ना घोडाहरूमा सवार गर्दा
तिनीहरूको घोडसवारको आवाज समुद्रको गर्जनझैँ सुनिन्छ;
हे बेबिलोनकी छोरी, तिनीहरूले तिमीहरूलाई आक्रमण गर्न आउँदा
लडाइँको मोर्चा बाँधेर तिनीहरू मानिसहरूझैँ आउनेछन्।
बेबिलोनको राजाले तिनीहरूको बारेमा खबर सुनेको छ;
अनि त्यसका हातहरू लल्याकलुलुक भएका छन्।
प्रसव-वेदनामा परेकी स्त्रीलाई जस्तै
पीडाले त्यसलाई पक्रेको छ।
हेर, यर्दन नदीका झाडीहरूबाट
हरियो खर्कबाट निस्केर आइरहेको सिंहझैँ म निस्कनेछु,
र म बेबिलोनलाई झट्टै त्यसकै देशबाट खेद्नेछु;
यस देशको निम्ति जसलाई चुन्छु, उसैलाई नियुक्त गर्नेछु।
मजस्तो को छ र? कसले मलाई चुनौती दिन सक्छ?
अनि कुनचाहिँ गोठालो मेरो विरुद्धमा खडा हुन सक्छ?”
यसकारण बेबिलोनको विरुद्धमा याहवेहले जे योजना गर्नुभएको छ,
उहाँले बेबिलोनीहरूको देशको विरुद्धमा जे उद्देश्य राख्नुभएको छ, सुन:
बगालका कलिला बालबालिकाहरू तानेर लगिनेछन्;
तिनीहरूका खर्कहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।