YouVersion लोगो
खोज आइकन

याकोब 2:2-13

याकोब 2:2-13 NCV

मानौं, तिमीहरूको सभामा एकजना मानिस सुनको औँठी र सुन्दर वस्त्र लगाएर आयो, अनि थाङ्ने वस्त्र लगाएको गरिब मानिस पनि आयो; यदि तिमीले सुन्दर वस्त्र लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीं उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने, के तिमीहरू आपसमा पक्षपात गरेर दुष्‍ट विचारले न्याय गर्नेहरू भएनौ र? मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्‍वरले विश्‍वासमा धनी हुनालाई, अनि उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनालाई चुन्‍नुभएको होइन र? तर तिमीहरूले त गरिबहरूलाई अपमान गर्‍यौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने तिनीहरू नै होइनन्? के तिनीहरूले त्यही आदरणीय नाउँको निन्दा गर्दैनन्, जुन नाउँले तिमीहरू बोलाइएका छौ? यदि “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर” भन्‍ने पवित्र धर्मशास्त्रमा पाइने राजकीय आज्ञा तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठीक गर्दैछौ। तर तिमीहरूले पक्षपात गर्‍यौ भने तिमीहरूले पाप गर्दछौ, र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उलङ्घन गरेको दोष लगाउँछ। किनकि जसले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि चुक्यो भने त्यो सम्पूर्ण व्यवस्था उलङ्घन गर्नेजस्तै दोषी हुनेछ। किनकि जसले “व्यभिचार नगर्नू” भन्‍नुभयो, उहाँले “हत्या नगर्नू” पनि भन्‍नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उलङ्घन गर्नेहरू भयौ। स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर; किनकि दयालु नहुने हरेकलाई दयाविना न्याय गरिनेछ। दयालुले न्यायमाथि विजय गर्छ।

याकोब 2 पढ्नुहोस्