YouVersion लोगो
खोज आइकन

याकोब 1

1
1परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट,
संसारैभरि छरिएका बाह्रै कुललाई:
अभिवादन!
कष्‍ट र परीक्षाहरू
2मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूले धेरै किसिमका आपत-विपतहरूको सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ, 3किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ। 4तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ। 5यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्कीकन दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ। 6तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ, अनि शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो। 7अनि त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। 8दोहोरो मन भएको मानिस आफूले गर्ने सबै कामहरूमा अस्थिर हुन्छ।
9दीन अवस्थाको विश्‍वासीहरूले परमेश्‍वरले दिनुभएको आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, 10तर धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्; किनकि तिनीहरू त घाँसको फूलझैं ओइलाएर जानेछन्। 11किनकि चर्को रापसित सूर्य उदाउँछ र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, अनि त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ।
12त्यो मानिस धन्यको हो, जो आपत-विपतहरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्‍का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुनचाहिँ परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूको लागि प्रतिज्ञा गर्नुभएको छ।
13परीक्षामा पर्दा कसैले पनि “परमेश्‍वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्‍ट कुराहरूबाट परमेश्‍वर परीक्षित हुन सक्नुहुन्‍न, न ता उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ। 14तर हरेक व्यक्‍ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ। 15त्यसपछि त्यो खराब इच्छा गर्भवती भएर पापलाई जन्माउँछ; र पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ।
16त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, धोखामा नपर! 17हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदल्नुहुन्‍न। 18सृष्‍टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौं भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्‍नुभयो।
सुन्‍नु र गर्नु
19मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्‍नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होओस्; 20किनकि मानिसको रिसले परमेश्‍वरले चाहनुभएको धार्मिकताको काम गर्दैन। 21यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्‍टतालाई त्याग अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ।
22वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर। 23जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ; 24अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ; तब ऊ कस्तो देखिन्छ, सो झट्टै बिर्सिहाल्छ। 25तर जसले स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई ध्यानसित हेर्छ, र आफूले सुनेको कुरालाई नबिर्सी गरिरहन्छ; तब त्यसले गरेको काममा त्यसले आशिष पाउँछ।
26यदि कसैले आफैलाई धर्मी सम्झन्छ र पनि आफ्नो जिब्रोमा लगाम लाउँदैन भने ता, उसले आफूलाई धोका दिन्छ र त्यसको धर्मचाहिँ व्यर्थको हुन्छ। 27हाम्रा पिता परमेश्‍वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो, अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्‍टमा हेरचाह गर्नु अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु।

अहिले सेलेक्ट गरिएको:

याकोब 1: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्