YouVersion लोगो
खोज आइकन

यशैया 34

34
राष्ट्रहरूका विरुद्धमा न्याय
1हे जाति-जातिका मानिसहरू हो, नजिक आएर सुन;
हे मानिसहरू हो, ध्यान देओ!
पृथ्वी र यसमा भएका सबैले,
संसार र यसबाट निस्किआउने सबैले सुनून्!
2याहवेह सबै जातिहरूसित रिसाउनुभएको छ;
उहाँको क्रोध तिनीहरूका सबै सेनाहरूमाथि छ।
उहाँले तिनीहरूलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेछ;
उहाँले तिनीहरूलाई मारिनलाई दिनुहुनेछ।
3तिनीहरूका मारिएकाहरू फालिनेछन्,
र तिनीहरूका मृत शरीरहरूले दुर्गन्ध फैलाउनेछन्;
पहाडहरू तिनीहरूका रगतले भिज्नेछन्।
4आकाशका सबै ताराहरू विलीन हुनेछन्,
र आकाशचाहिँ चर्मपत्रझैँ बेरिनेछ;
सम्पूर्ण तारामण्डल
अङ्‌गुरको बोटबाट ओइलिएका पातहरू झरेजस्तै,
र नेभाराको बोटबाट चाउरी परेका नेभाराहरूझैँ खस्‍नेछन्।
5मेरो तरवार आकाशमण्डलमा पिएर तृप्‍त भएको छ;
हेर, न्यायका लागि एदोममाथि त्यसले प्रहार गर्नेछ;
त्यस जातिमाथि, जसलाई मैले नाशका निम्ति अलग गरेको छु।
6याहवेहको तरवार रगतमा चोपिएको छ;
त्यो बोसोले पुष्‍ट भएको छ—
थुमा र बाख्राहरूका रगत,
भेडाहरूका मिर्गौलाको बोसोले लतपतिएको छ।
किनकि बोज्रामा याहवेहको एउटा बलिदान छ;
अनि एदोममा ठूलो संहार भएको छ।
7तिनीहरूसित जङ्गली साँढेहरू,
बाछाहरू र ठूला साँढेहरू लड्नेछन्।
तिनीहरूको देश रगतले निथ्रुक्‍क भिज्नेछ;
अनि धुलो बोसोसित मिसिनेछ।
8किनकि याहवेहको बदला लिने एउटा दिन छ,
सियोनको मुद्दा अटल राख्नलाई दण्ड दिने वर्ष छ।
9एदोमका खोलाहरू अलकत्रामा परिवर्तन हुनेछन्;
त्यसका धुलो बल्दैगरेको गन्धकमा परिवर्तन हुनेछ;
त्यसको देश बल्दैगरेको अलकत्रा हुनेछ!
10त्यो रात वा दिन, कहिल्यै निभ्नेछैन;
त्यसको धुवाँ निरन्तर उँभो उठिरहनेछ।
पुस्ता-पुस्तासम्म त्यो उजाड भएर रहनेछ;
त्यसबाट भएर फेरि कोही जानेछैन।
11त्यसलाई मरुभूमिको उल्‍लु र दुम्सीले अधिकार गर्नेछन्;
ठूलो उल्‍लु र कागहरूले त्यसमा गुँड बनाउनेछन्।
परमेश्‍वरले एदोममाथि
गोलमालको नापडोरी
र उजाडको साहुल तेर्साइदिनुहुनेछ।
12त्यसका कुलीन मानिसहरूका निम्ति राज्य भन्‍न लायक त्यहाँ केही पनि हुनेछैन;
त्यसका सबै राजकुमारहरू बेपत्ता हुनेछन्।
13त्यसका किल्‍लाका बुर्जाहरूमा काँडा,
र त्यसका किल्‍लाहरूमा सिस्‍नु र सिउँडीहरू उम्रनेछन्।
त्यो स्यालहरू
र उल्‍लुहरूका वासस्थान हुनेछ।
14मरुभूमिका जन्तुहरू हुँडारहरूसित भेट गर्नेछन्;
अनि जङ्गली बाख्राहरू आपसमा म्याँ-म्याँ गर्नेछन्;
त्यहाँ रातका पशुहरू पनि ढल्किनेछन्;
अनि आफ्नै निम्ति विश्रामस्थल भेट्टाउनेछन्।
15उल्‍लुले त्यहाँ गुँड बनाएर अण्डा पार्नेछे,
त्यसले बचेरा काढेर त्यसलाई
आफ्ना पखेटाको छहारीमा हुर्काउँछे;
त्यहाँ बाजहरू पनि
आ-आफ्ना जोडीसित भेट गर्नेछन्।
16याहवेहको चर्मपत्रमा हेर र पढ:
तीमध्ये एउटै पनि हराउनेछैन,
कसैलाई आफ्नो जोडीको अभाव हुनेछैन।
किनकि यो हुकुम उहाँको मुखले दिएको हो;
अनि उहाँका आत्माले ती एकसाथ बटुल्नुहुनेछ।
17उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुनेछ;
उहाँको हातले नाप्‍ने डोरी तानेर बाँडिदिनुभएको छ।
तिनीहरूले त्यसलाई सदाको निम्ति आफ्नो बनाउनेछन्
र पुस्तादेखि पुस्तासम्मै त्यहाँ बस्‍नेछन्।

अहिले सेलेक्ट गरिएको:

यशैया 34: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्