YouVersion लोगो
खोज आइकन

यशैया 22

22
यरूशलेमको विषयमा भविष्यवाणी
1दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी:
अहिले तिमीहरूलाई के भयो,
कि तिमीहरू सबै जना घरका कौसीहरूमा चढेर गयौ?
2हे होहल्‍ला र खैलाबैला भरिएको सहर,
हे हलचल र उत्तेजनाले भरिएको नगर;
मारिएका तेरा मानिसहरू तरवारद्वारा मारिएका होइनन्,
न त तिनीहरू लडाइँमा मारिएका हुन्।
3तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्;
तिनीहरू कुनै धनु नचलाई पक्रिएका छन्।
तेरा शत्रुहरू टाढा छँदै तँ भागिस्,
र तिमीहरू एकसाथ कैदमा लगियौ।
4यसकारण मैले भनेँ, “मबाट गइहाल;
मलाई धुरुधुरु रुन देओ।
मेरा जातिको संहारमा
मलाई सान्त्वना दिने प्रयास नगर।”
5सेनाहरूका याहवेह, प्रभुकहाँ
दर्शनको बेँसीमा खैलाबैला, कुल्चीमिल्ची
र आतङ्कको एउटा दिन छ;
पर्खाल भत्काउने
र पहाडहरूसित कराउने एउटा दिन छ।
6एलामले आफ्ना सारथीहरू र घोडाहरूसित
आफ्नो धनु राख्ने ठोक्रो भिर्छ;
कीरले ढालको खोल निकाल्छ।
7तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्,
र सहरका मूलढोकाहरूमा घोडचढीहरू खटाइएका छन्।
8यहूदाको सुरक्षा हटाइएको छ;
अनि त्यस दिन तैँले वनमा भएको
राजमहलका हतियारहरूतिर हेरिस्;
9तैँले दावीदको सहरका
धेरै पर्खालहरूमा धाँदाहरू देखिस्;
तैँले तल्‍लो पोखरीमा
पानी जम्मा गरिस्।
10तैँले यरूशलेममा भवनहरू गनिस्,
र पर्खाल बलियो पार्न घरहरू भत्काइस्।
11तैँले पुरानो कुवाको पानीको निम्ति
दुई वटा पर्खालहरूको बीचमा एउटा जलाशय निर्माण गरिस्,
तर तैँले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरिनस्;
अनि धेरै पहिले त्यसलाई योजना गर्नुहुनेलाई आदर गरिनस्।
12त्यस दिन प्रभु, सेनाहरूका याहवेहले
तँलाई त्यससित रुन र विलाप गर्न,
आफ्नो केश लुछ्न
र भाङ्ग्रा लगाउन बोलाउनुभयो।
13तर हेर, आनन्द र रमाहट,
पशुहरू संहार गर्ने र भेडाहरू मार्ने,
मासु खाने र मद्य पिउने काम भइरहेछ!
तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ;
किनकि भोलि त हामी मर्नेछौँ!”
14सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्‍चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
15प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:
“जा, त्यस भण्डारेलाई,
राजमहलको जिम्मामा रहेको शेब्नालाई यसो भन्:
16तँ यहाँ के गर्दैछस्, र तँलाई
यहाँ आफ्नो लागि चिहान बनाउन कसले अनुमति दियो?
यस उचाइमा आफ्नो चिहान खोप्ने,
र चट्टानमा आफ्ना निम्ति खोपेर विश्रामस्थल बनाउने अधिकार कहाँबाट पाइस्?
17“होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ;
अनि तँ शक्तिशाली मानिस सुन्, तँलाई उहाँले टिपेर टाढा फ्याँकिदिनुहुनेछ।
18उहाँले तँलाई कसेर पोको पार्नुहुनेछ;
अनि एउटा भकुण्डोजस्तै ठूलो देशमा हुर्‍र्याइदिनुहुनेछ।
त्यहीँ नै तँ मर्नेछस्,
र त्यहाँ तेरा तेजस्वी रथहरू जाकिनेछन्,
र ती तेरा मालिकको घरानाका निम्ति शर्मको कुरा हुनेछ!
19म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु,
र तँ आफ्नो पदबाट निकालिनेछस्।
20“त्यस दिन म हिल्कियाहको छोरा, मेरो सेवक एल्याकीमलाई बोलाउनेछु। 21म त्यसलाई तेरो पोशाक पहिर्‍याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्‍नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ। 22म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्‍न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन। 23म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ। 24आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।”
25सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ।

अहिले सेलेक्ट गरिएको:

यशैया 22: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्