होशे 10
10
1इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो;
त्यसले आफ्नै निम्ति प्रशस्त फल फलायो।
जब त्यसको प्रशस्त फलहरू बढ्दैगयो,
तब त्यसले धेरै वेदीहरू बनायो;
जब त्यसको देशको समृद्धि भयो,
तब त्यसले आफ्नो पवित्र ढुङ्गाहरूलाई सिँगार्यो।
2तिनीहरूको हृदय छली छ;
अब तिनीहरूले आफ्नो दोषको दण्ड पाउनैपर्छ।
याहवेहले तिनीहरूका वेदीहरू भत्काउनुहुनेछ;
अनि तिनीहरूले पवित्र मानिएका ढुङ्गाहरूलाई नष्ट पार्नुहुनेछ।
3तब तिनीहरूले भन्नेछन्, “हामीले याहवेहलाई
आदर गरेनौँ; यसकारण हामीसित राजा छैनन्।
तर यदि हामीसित राजा भए तापनि
तिनले हाम्रा निम्ति के गर्न सक्थे र?”
4तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्,
झूटो शपथ खान्छन्
र सहमति जनाउँछन्;
त्यसैले जोतिएको जमिनमा उम्रेका
विषालु झारहरूझैँ अन्याय मौलाउँछ।
5सामरियामा बसोबास गर्ने मानिसहरू
बेथ-आवेनको सुनको बाछाको मूर्तिसँग डराउँछन्।
र मूर्तिपूजक पुजारीहरूले पनि त्यसै गर्नेछन्;
तिनीहरू जसले मूर्तिको गौरवमा आनन्द मनाएका थिए;
त्यसका मानिसहरू त्यसको निम्ति विलाप गर्नेछन्;
किनकि देशबाट मूर्ति निकालेर कैदमा लगिएको छ।
6त्यसलाई महान् राजाको निम्ति
सौगातको रूपमा अश्शूर देशमा लगिनेछ।
एफ्राइम अपमानित हुनेछ;
इस्राएल आफ्ना पराई देवताको कारण लज्जित हुनेछ।
7सामरियाको राजा नष्ट हुनेछ,
त्यो पानीले बगाएको काठको टुक्राझैँ बगेर जानेछ।
8दुष्टताका अग्ला-अग्ला डाँडाहरू नष्ट पारिनेछन्;
यो इस्राएलको पाप हो।
काँडा र सिउँडीहरू बढ्नेछन्,
र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्।
त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई छोप!”
र पहाडहरूलाई भन्नेछन्, “हामीमाथि खस!”
9“हे इस्राएल, तिमीहरूले गेबाको दिनदेखि नै पाप गरेका छौ,
र तिमीहरू त्यही पापमा छौ।
के गेबामा भएका दुष्ट काम गर्ने मानिसहरू
फेरि युद्धमा पर्दैनन् र?
10म आफ्नो इच्छाअनुसार तिनीहरूलाई दण्ड दिनेछु;
तिनीहरूलाई आफ्ना दोबर पापको निम्ति बन्धनमा पार्नलाई
तिनीहरूको विरुद्धमा राष्ट्रहरू भेला हुनेछन्।
11एफ्राइम दाइँ गर्न रुचाउने
तालिमद्वारा सधाइएकी कोरली हो;
यसकारण म त्यसको सुन्दर काँधमाथि
गह्रौँ जुवा हालिदिनेछु।
म एफ्राइमलाई धपाउनेछु,
यहूदाले चाहिँ जोत्नुपर्छ
र याकोबले जमिन फुटाउनुपर्नेछ।
12आफ्नो निम्ति धार्मिकताको बिउ छर!
अचुक प्रेमको फसलको कटनी गर!
र तिमीहरूका नजोतिएका जमिनलाई जोत;
किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो;
अनि उहाँ आउनुहुन्छ
र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।
13तर तिमीहरूले दुष्टता रोपेका छौ,
र तिमीहरूले पापको कटनी गरेका छौ;
तिमीहरूले छलको फल खाएका छौ।
अनि तिमीहरूले आफ्नै सामर्थ्य
र आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण
14तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्;
युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ
तिमीहरूका सबै बलिया किल्लाहरू नष्ट हुनेछन्;
जुन समयमा आमाहरू आफ्ना छोराछोरीहरूसँगै
भुइँमा पछारिएर टुक्रा-टुक्रा पारिएका थिए।
15हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ;
किनकि तेरो दुष्टता धेरै छ।
त्यो दिन आएपछि,
इस्राएलको राजा पूर्ण रूपमा सर्वनाश हुनेछ।
अहिले सेलेक्ट गरिएको:
होशे 10: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.