YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 3:1-19

हिब्रूहरू 3:1-19 NCV

यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, हामीले प्रेरित अनि प्रधान पूजाहारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ। जसरी मोशा परमेश्‍वरको घरमा विश्‍वासयोग्य थिए, त्यसरी नै येशू पनि आफूलाई नियुक्‍त गर्नुहुने परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनुहुन्थ्यो। घरको भन्दा घर बनाउनेको आदर बढी भएझैं, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ। किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्‍वर नै हरेक थोकका निर्माता हुनुहुन्छ। अनि भविष्यमा परमेश्‍वरले के भन्‍नुहुनेछ भनेर साक्षी दिँदै “परमेश्‍वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैं विश्‍वासयोग्य थिए।” तर परमेश्‍वरको सम्पूर्ण परिवारमा ख्रीष्‍टचाहिँ पुत्रको रूपमा विश्‍वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्‍यौं भने हामी उहाँका परिवार हौं। यसकारण जसरी पवित्र आत्मा भन्‍नुहुन्छ: “आज तिमीहरूले उहाँको स्वर सुन्यौं भने, तिमीहरूले उजाडस्थानमा परीक्षाको समयमा, बागी भएझैं आफ्ना हृदयलाई कठोर नपार, जहाँ मैले चालीस वर्षसम्म के गरें, सो देखेर पनि। तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए, त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ, अनि मैले भनें, ‘तिनीहरूका हृदय सधैं बरालिन्छन्, अनि तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’ यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरें, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ” यसकारण हे दाजुभाइ-दिदीबहिनीहरूहो, यसमा विचार गर कि, तिमीहरूसँग जीवित परमेश्‍वरदेखि टाढा रहने पापपूर्ण र अविश्‍वासी हृदय नहोस्। तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्। हामीसँग भएको आत्मविश्‍वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्‍यौं भने, हामी ख्रीष्‍टका सहभागी भएका छौं। जसरी धर्मशास्त्रमा लेखिएको छ: “आज तिमीहरूले उहाँको स्वर सुन्यौं भने, तिमीहरू बागी हुँदा गरेझैं आफ्ना हृदयलाई कठोर नबनाओ।” सुनेर बागी हुने ती को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्‍याएर निकालेका थिए? अनि उहाँ कोसँग चालीस वर्षसम्म रिसाउनुभएको थियो? के तिनीहरूसितै होइन र, जसले पाप गरे, र जसका शरीरहरू मरुभूमिमा नष्‍ट भए? अनि परमेश्‍वरले उहाँको विश्राममा प्रवेश गर्नेछैनौ भनी कोसँग शपथ खानुभएको थियो, तिनीहरूसँग नै होइन र, जो अनाज्ञाकारी बने? यसरी हामी देख्दछौं कि, तिनीहरूका अविश्‍वासको कारणले तिनीहरू प्रवेश गर्न सकेनन्।

हिब्रूहरू 3 पढ्नुहोस्