YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 2

2
ध्यान दिनलाई चेतावनी
1यसकारण हामीले जे सुनेका छौं, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्र ता हामी त्यसबाट तर्किजानेछौं। 2किनकि स्वर्गदूतहरूले बोलेको सन्देश पक्‍का थियो, र यसलाई उलङ्घन गर्ने र अनाज्ञाकारी रहने सबैले परमेश्‍वरबाट उचित दण्ड पाए भने, 3हामीले त झन् यति महान् मुक्‍तिको वास्ता राखेनौं भने हामी कसरी उम्कौंला त? यो त्यही मुक्‍ति थियो, जसलाई पहिले प्रभुले घोषणा गर्नुभयो र उहाँलाई सुन्‍नेहरूले हाम्रा निम्ति यसको पुष्‍टि गरिदिए। 4परमेश्‍वरले पनि चिन्हहरू, अद्भुत कामहरू र अनेकौं आश्‍चर्यपूर्ण कामहरू अनि उहाँको इच्छाद्वारा बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा त्यसलाई पक्‍का गर्नुभयो।
येशू पूर्ण मानिस
5हामीले जुन आउने संसारको विषयमा कुरा गर्दैछौं, त्यसलाई स्वर्गदूतहरूको अधीनतामा राखिएन। 6तर कसैले धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भन्‍ने साक्षी दिएका छन्:
“मानवजाति के हो, र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?
अथवा मानिसको पुत्र के हुन्, र तपाईं उहाँको फिक्री गर्नुहुन्छ?
7तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम#2:7 अथवा उहाँलाई केही समयको लागि दर्जाको बनाउनुभयो,
तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनुभयो,
8सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो।”#2:8 भजन 8:4-6
मानिसको अधीनतामा सब थोक राख्नुहुँदा उहाँको अधीनबाहिर केही रहन दिनुभएन; तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनतामा भएको हामी देख्दैनौं। 9तर हामी येशूलाई देख्छौं, जसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइएको थियो, अब मृत्यु सहनुभएकोले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ; ताकि परमेश्‍वरको अनुग्रहद्वारा उहाँले हरेकको निम्ति मृत्यु चाखून्।
10परमेश्‍वर, जसको निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्‍तिका कर्ता येशूलाई कष्‍टहरूद्वारा सिद्ध तुल्याउन उचित थियो। 11मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्‍न शर्माउनुभएन। 12उहाँ भन्‍नुहुन्छ;
“मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाउँ घोषणा गर्नेछु;
सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।”#2:12 भजन 22:22
13अनि फेरि,
“उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।”#2:13 यशै 8:17
र उहाँ फेरि भन्‍नुहुन्छ,
“हेर, म र परमेश्‍वरले मलाई दिनुभएका यी छोराछोरीहरू।”#2:13 यशै 8:18
14छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूका जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई जससँग मृत्युको अधिकार छ, नष्‍ट पार्न सक्नुभएको होस्, 15र जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्‍त गरियोस्। 16किनकि उहाँले अवश्य नै स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका वंशलाई सहायता दिनुहुन्छ। 17यसैकारण उहाँलाई हर किसिमले आफ्ना भाइहरूझैं हुनुपर्ने थियो; ताकि उहाँ परमेश्‍वरको सेवामा दयालु अनि विश्‍वासयोग्य प्रधान पूजाहारी बनून्, यसरी येशू मानिसहरूका पाप क्षमाको बलिदान हुनुभएको होस्। 18किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्‍ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।

अहिले सेलेक्ट गरिएको:

हिब्रूहरू 2: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्