YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 12:1-11

हिब्रूहरू 12:1-11 NCV

यसकारण यतिका साक्षीका ठूला बादलले हामीलाई घेरिराखेका हुनाले, हामीलाई बाधा पुर्‍याउने टन्टाहरू, अनि सजिलैसित अलमल्याउने पापहरूजस्ता हरेक थोक त्यागेर, हाम्रो अघि राखिएको दौड धीरजसाथ दगुरौं। अनि हाम्रा विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हाम्रा आँखा केन्द्रित गरौं, जसले आफ्नो अघि राखिएको आनन्दको निम्ति लाजको उपेक्षा गर्दै क्रूसको कष्‍ट भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिने हाततिर विराजमान हुनुभयो। पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, यसरी तिमीहरू थाक्नेछैनौ र हरेस खानेछैनौ। तिमीहरूको पापको संघर्षको विरुद्धमा तिमीहरूले रगत बग्ने गरी त्यसको विरोध गरेका छैनौ। अनि पिताले आफ्नो पुत्रलाई भनेझैं तिमीहरूलाई भनिएका परमेश्‍वरको ढाडसका वचन तिमीहरूले पूरै भुलिसक्यौ? “हे मेरा पुत्र, परमेश्‍वरको अनुशासनलाई हल्का नठान, अनि उहाँले तिमीलाई हप्काउँदा हताश नहोऊ; किनकि परमेश्‍वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ, अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।” कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्‍वरले तिमीहरूलाई सन्तानहरूझैं व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासन नगरेको कुनचाहिँ पुत्र होला र? अनि सबैजना अनुशासनको भागी भएर जान्छन्; यदि तिमीहरूलाई अनुशासन गरिएन भने ता, तिमीहरू वैधानिक होइनौ, साँचो छोराछोरीहरू होइनौ। यसबाहेक हामीलाई अनुशासन गर्ने हाम्रा सांसारिक पिताहरू थिए, र हामीले तिनीहरूलाई आदर गर्‍यौं भने, झन् कति बढी हाम्रा आत्माहरूका पिताको अधीनतामा रहनुपर्छ र जिउनुपर्छ! उहाँहरूलाई असल लागेअनुसार हामीलाई केही समयसम्म अनुशासन गर्नुभयो, तर हामी परमेश्‍वरको पवित्रतामा सहभागी होऔं भनेर परमेश्‍वरले हामीलाई हाम्रै भलाइको लागि अनुशासन गर्नुहुन्छ। कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्‍टदायक हुन्छ। त्यसो भए तापनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्‍न हुन्छ।

हिब्रूहरू 12 पढ्नुहोस्

हिब्रूहरू 12:1-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति