नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीका सबै गहिरा मूलहरू फुटे, र आकाशका पानीका बाँधहरू खोलिए। अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्यो। त्यसै दिन नोआ र तिनका छोराहरू शेम, हाम अनि येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। तिनीहरूसित आ-आफ्नै प्रकारका प्रत्येक जङ्गली जनावर, आ-आफ्नै प्रकारका सबै घरपालुवा पशु, आ-आफ्नै प्रकारका जमिनमा घस्रने प्राणी र पखेटा भएका आ-आफ्नै प्रकारका पक्षी थिए। जीवनको सास हुने सबै प्राणीहरूका जोडी-जोडी गरी नोआकहाँ जहाजमा आए। भित्र पसेका प्राणीहरूमध्ये परमेश्वरले नोआलाई आज्ञा गर्नुभएअनुसार प्रत्येक जीवित प्राणीका भाले र पोथी थिए। तिनीहरू भित्र पसेपछि याहवेहले ढोका थुनिदिनुभयो। चालीस दिनसम्म पृथ्वीमा जलप्रलय भइरह्यो; अनि जब पानी बढ्दैगयो, तब त्यसले जहाजलाई पृथ्वीमाथि उचाल्दै लग्यो। पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो। पृथ्वीमा पानी झन्-झन् बढ्दैगयो, र आकाशमुनि भएका सबै अग्ला-अग्ला पर्वतहरू डुबे। पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट माथिसम्म पुग्यो। पृथ्वीमा चलहल गर्ने प्रत्येक जीवित प्राणी—चराचुरुङ्गी, घरपालुवा पशु, जङ्गली जनावर, पृथ्वीमा हुल बाँधेर हिँड्ने हरेक प्रकारका जीवजन्तुहरू र सारा मानिस जातिहरू नष्ट भए। ओबानो भूमिमा भएका नाकमा जीवनको सास हुनेहरू सबै थोक नष्ट भए। पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे। पृथ्वीमाथि पानी एक सय पचास दिनसम्म जलमग्न भइरह्यो।
उत्पत्ति 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 7:11-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू