YouVersion लोगो
खोज आइकन

उत्पत्ति 41:37-57

उत्पत्ति 41:37-57 NCV

त्यो योजना फारो र उनका सबै पदाधिकारीहरूलाई असल लाग्यो। यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्‍वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?” तब फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन। तिमी मेरो राजमहलका हर्ताकर्ता हुनेछौ, र मेरा सबै प्रजा तिम्रो हुकुमको अधीनमा हुनेछन्। सिंहासनको विषयमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।” यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।” तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्‍याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए। उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए। तब फारोले योसेफलाई भने, “म फारो हुँ; तर तिम्रो हुकुमविना इजिप्टभरि कसैले पनि हात वा खुट्टा उठाउन पाउनेछैन।” फारोले योसेफलाई सापनान-पानेह नाम दिए; अनि ओनका पुजारी पोतीफेराकी छोरी आसनतलाई तिनकी पत्नी हुनलाई दिए। अनि योसेफले इजिप्टभरि भ्रमण गरे। इजिप्टका राजा फारोको सेवामा प्रवेश गर्दा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको उपस्थितिबाट निस्किएर गए, र इजिप्टभरि भ्रमण गरे। सात वर्षको सहकालमा देशमा प्रशस्त उब्जनी भयो। योसेफले ती सात वर्षहरूमा इजिप्टमा प्रशस्त गरी उब्जिएका सबै अन्‍न ती जम्मा गरे, र सहरहरूमा जम्मा गरे। प्रत्येक सहरका छेउछाउका खेतहरूमा भएका उब्जनी तिनले सहरहरूमा थन्क्याए। योसेफले समुद्रको बालुवासरह धेरै परिमाणमा अन्‍न जम्मा गरे; त्यो अन्‍न यति धेरै थियो कि नाप्‍न पनि नसकेकोले तिनले त्यसको हिसाब राख्नै छोडिदिए। अनिकालका वर्षहरू आउनुभन्दा अगि ओनका पुजारी पोतीफेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मे। योसेफले जेठोको नाम मनश्शे राखेर यसो भने, “योचाहिँ परमेश्‍वरले मेरा सबै कष्‍ट र मेरा पिताका सबै घरानालाई बिर्सन दिनुभएको कारणले गर्दा हो।” दोस्रो छोराको नाम तिनले एफ्राइम राखेर भने, “योचाहिँ मेरो कष्‍टको देशमा परमेश्‍वरले मलाई फलिफाप गराउनुभएको कारणले गर्दा हो।” इजिप्टमा सात वर्षको सहकाल समाप्‍त भयो; अनि योसेफले भनेझैँ सात वर्षको अनिकाल सुरु भयो। अरू सबै देशहरूमा अनिकाल पर्‍यो, तर इजिप्टभरि चाहिँ भोजन थियो। जब सारा इजिप्टका मानिसहरूले अनिकालको अनुभव गर्न थाले, तब मानिसहरू भोजनका लागि फारोसित बिलौना गर्न लागे। तब फारोले सबै इजिप्टियनहरूलाई भने, “योसेफकहाँ जाओ, र तिनले तिमीहरूलाई जे भन्छन्, त्यही गर।” यसरी अनिकाल सारा देशभरि फैलियो। योसेफले सम्पूर्ण भण्डारहरू खोलिदिए, र इजिप्टियनहरूलाई अन्‍न बेचे; किनकि इजिप्टभरि नै घोर अनिकाल फैलिएको थियो। अनि सबै देशका मानिसहरू योसेफबाट अन्‍न किन्‍नलाई इजिप्टमा आए; किनकि संसारभरि नै जताततै घोर अनिकाल परेको थियो।

उत्पत्ति 41 पढ्नुहोस्