YouVersion लोगो
खोज आइकन

उत्पत्ति 19:15-29

उत्पत्ति 19:15-29 NCV

झिसमिसे उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर हतार गराए, “चाँडो गर! यहाँ भएका तिम्री पत्नी र दुई छोरीहरू लिएर गइहाल, नत्रता यस सहरले दण्ड पाउँदा तिमीहरू पनि भस्म हुनेछौ।” जब तिनले आनाकानी गरे, तब याहवेह तिनीहरूप्रति कृपालु हुनुभएकोले ती मानिसहरूले तिनकी पत्नी र दुई छोरीहरूका हात समाते, र तिनलाई सुरक्षित सहरबाहिर पुर्‍याए। तिनीहरूलाई बाहिर निकालेर ल्याउनसाथ ती दुईमध्ये एकले भने, “आफ्नो ज्यान जोगाउनलाई भागिहाल! आफ्नो पछिल्तिर फर्केर नहेर, र समथल भूमिमा कतै नरोकिनू! पहाडहरूतिर भागेर जाऊ, नत्रता तिमीहरू भस्म हुनेछौ!” तर लोतले तिनीहरूलाई भने, “हे मेरा प्रभुहरू हो, त्यस्तो नहोस्! तपाईंहरूका सेवकले तपाईंहरूका दृष्‍टिमा निगाह पाएको छ, र मेरो ज्यान जोगाउनमा तपाईंहरूले मलाई ठूलो दया देखाउनुभएको छ। तर म भागेर पहाडतिर जान सक्दिनँ; त्यहाँ पुग्नुभन्दा अगि नै यो प्रकोप ममाथि आइलाग्नेछ, र म मर्नेछु। हेर्नुहोस्, त्यतातिर दौडेर पुग्न सकिने एउटा नगर नजिकै छ, र यो सानो छ। मलाई त्यहाँ भागेर जान दिनुहोस्—यो सानो पनि छ, होइन र? तब मेरो ज्यान बाँच्नेछ।” अनि तिनले भने, “ठिकै छ, म यो अनुरोधलाई पनि मान्दछु; तिमीले भनेको यस नगरलाई म नाश गर्नेछैनँ। तर चाँडो गरी त्यहीँ भागेर जाऊ; किनकि तिमी त्यहाँ नपुगुन्जेल म केही गर्न सक्दिनँ।” (त्यसैकारण त्यस नगरलाई सोअर भनियो।) लोत सोअरमा आइपुग्दा त्यस ठाउँमा सूर्य उदाइसकेको थियो। तब याहवेहले स्वर्गबाट गन्धकको आगो सदोम र गमोरामाथि बर्साउनुभयो। यसरी उहाँले ती सहरहरू र त्यस सहरहरूका बासिन्दाहरूसमेत, समस्त समथल भूमिहरू र त्यस ठाउँका वनस्पति सबै नाश गरिदिनुभयो। तर लोतकी पत्नीले पछिल्तिर फर्केर हेरिन्, र तिनी नुनको खाँबो भइन्। अब्राहाम भोलिपल्ट बिहानै उठे, र त्यस ठाउँमा गए, जहाँ तिनी याहवेहको सामु पहिले उभिएका थिए। तिनले सदोम, गमोरा र समथल भूमिका सबै ठाउँतिर हेरे; अनि तिनले भट्टीबाट धुवाँ उठेझैँ, त्यस ठाउँबाट बाक्लो धुवाँको मुस्लो उँभोतिर उठिरहेको देखे। यसरी परमेश्‍वरले समथल भूमिका सहरहरू नाश गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो, तब उहाँले लोत बसिरहेका ती सहरहरूलाई नाश गर्नुभन्दा अगि लोतलाई त्यस ठाउँबाट सकुशल बाहिर निकाल्नुभयो।

उत्पत्ति 19 पढ्नुहोस्