YouVersion लोगो
खोज आइकन

गलाती 3:15-29

गलाती 3:15-29 NCV

दाजुभाइ-दिदीबहिनीहरू हो, म एउटा प्रचलित उदाहरण दिन्छु। जब मानिसको सहमतिमा करारपत्र पक्‍का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ। अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले, “सन्तानहरूलाई,” भन्दैन, अर्थात् धेरै मानिसहरू हो, तर “तेरा सन्तानलाई”, जसको अर्थ एउटा व्यक्ति, जो ख्रीष्‍ट हुनुहुन्छ। म यसो भन्छु: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्‍वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन; अनि प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन। यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्‍वरले उहाँको अनुग्रहमा प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो। त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, त्यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेल यो व्यवस्था स्वर्गदूतहरूद्वारा एक जना मध्यस्थकर्तालाई सुम्पिइएको थियो। एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्‍वर एउटै हुनुहुन्छ। तब के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्‍चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो। तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्‍टमा विश्‍वासद्वारा पाइन्छ; अनि जस-जसले विश्‍वास गर्दछन्, उनीहरूलाई दिइनेछ। तर विश्‍वास आउनुभन्दा अगि हामी व्यवस्थाको अधीनमा कैदी भएका थियौँ; अनि विश्‍वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौँ। यसकारण ख्रीष्‍ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ। अहिले त्यो विश्‍वास आएको छ। अब हामी अभिभावकको अधीनमा छैनौँ। यसकारण ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका सन्तान हौ। किनकि तिमीहरू जति जनाले ख्रीष्‍टमा बप्‍तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्‍टलाई धारण गरेका छौ। अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्‍का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्‍ट येशूमा तिमीहरू सबै जना एक हौ। यदि तिमीहरू ख्रीष्‍टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।

गलाती 3 पढ्नुहोस्