YouVersion लोगो
खोज आइकन

गलाती 1

1
1-2पावल एक प्रेरित र मसँग भएका सबै दाजुभाइ-दिदीबहिनीहरूबाट:
गलातियाका मण्डलीहरूलाई:
मलाई मानिसहरूको तर्फबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्‍ट र उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्‍वर पिताले पठाउनुभएको हो।
3हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। 4जसले हाम्रा पिता परमेश्‍वरको इच्छाअनुसार हाम्रा पापहरूका निम्ति आफूलाई अर्पण गर्नुभयो; ताकि हामीले यस वर्तमान दुष्‍ट युगबाट छुटकारा पाउन सकौं। 5परमेश्‍वर पितालाई सदा-सर्वदा महिमा भइरहोस्। आमेन!
अर्को सुसमाचार छैन
6म छक्‍क परिरहेको छु, किनकि तिमीहरू ख्रीष्‍टको अनुग्रहअनुसार जिउनलाई बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचारतिर लागिरहेका छौ। 7वास्तवमा त्यो साँचो सुसमाचार नै होइन। स्पष्‍टसँग भन्‍नुपर्दा केही मानिसहरूले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्दैछन्। 8तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचार भन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्! 9हामीले अघि नै भनिसकेका छौं, फेरि पनि म भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचार भन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!
10के म अहिले मानिसहरूको वा परमेश्‍वरको निगाह खोजिरहेछु? अथवा के मैले मानिसहरूलाई खुशी पार्ने प्रयास गरिरहेछु? यदि अझसम्म मैले मानिसहरूलाई नै खुशी पार्ने प्रयास गरिरहेको भए म ख्रीष्‍टको सेवक हुने नै थिइनँ।
पावल परमेश्‍वरद्वारा बोलाइएको
11मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूले यो जानेको चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानव निर्मित होइन। 12मैले कुनै मानिसबाट पाएको होइन, न ता कसैले मलाई सिकाएको हो, तर मैले सीधै येशू ख्रीष्‍टको प्रकाशबाट पाएको हुँ।
13किनकि यहूदी धर्ममा हुँदाको मेरो विगतको जीवन तिमीहरूले सुनेका छौ। मैले कति भयानकरूपमा परमेश्‍वरको मण्डलीलाई सताएँ र नष्‍ट पार्न खोजेको थिएँ। 14मेरा समकालीन दौंतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ र मेरा पितापुर्खाका परम्पराहरूको निम्ति ज्यादै जोशिलो थिएँ। 15तर जब मलाई मेरी आमाको गर्भदेखि नै अलग गर्नुहुने परमेश्‍वरले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो, 16उहाँले आफ्नो पुत्र ममा प्रकट गराउन खुशी मान्‍नुभयो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, 17न ता मभन्दा अघिका प्रेरितहरूसँग सल्‍लाह लिन यरूशलेम गएँ, तर म अरब देशमा गएँ, र त्यसपछि म दमस्कस फर्केर आएँ।
18अनि तीन वर्षपछि म पत्रुससँग#1:18 मूल भाषामा केफास चिनजान गर्नलाई यरूशलेम गएँ र उनीसँग पन्ध्र दिनसम्म बसें। 19मैले प्रभुको भाइ याकोबलाई बाहेक अरू कुनै पनि प्रेरितहरूलाई देखिनँ। 20परमेश्‍वरको अघि म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्छु, कि मैले जे लेखिरहेको छु, यो कुनै झूट होइन।
21त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ। 22ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्‍तिगत रूपमा चिनेका थिएनन्। 23उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्‍ट गर्न खोजेको विश्‍वासलाई प्रचार गरिरहेको छ।” 24अनि तिनीहरूले मेरो कारण परमेश्‍वरलाई प्रशंसा दिए।

अहिले सेलेक्ट गरिएको:

गलाती 1: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्